मध्यरातमा गोरखाको १२ किलोमा प्रहरीको ‘सिआइडी’ भन्दै लुटपाट!
काठमाडौं – प्रहरीले मध्यरातमा नेपाली प्रहरीको ‘सिआइडी’ हो भन्दै लुटपाट गर्न खोज्ने गिरोहलाई पक्राउ गरेको छ। केही दिनयता उक्त गिरोहले सिआईडी हो भन्दै गोरखाको १२ किलो बजारमा आतंक मच्चाउँदै आएका थिए।
मध्यराती २ बजे सिआईडी भन्दै यूवाको समूहले मालबहाक ट्रक रोकेर लुटपाट गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। गोरखा(–बुँखैरेनी सडकखण्डको १२ किलोमा उनीहरु ट्रक रोकेर लुटपाट गर्ने योजना बनाएका थिए।
दुईवटा ट्रक बलजफ्ती रोकेर धाकधम्की दिई आतंक मच्चाउने ६ जनाको समूहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए।
गोरखा नगरपालिका–११, का २० बर्षका निरन्जन तामाङ, २१ बर्षका निरज कोइराला, १९ बर्षका सुरज तामाङलाई घटनास्थलबाट नै पक्राउ गरेको प्रहरीले फरार रहेका २० बर्षका ओमराज गुरुङ, मनोज तामाङ र रिकेश कुँवरलाई भोलिपल्ट पक्राउ गरेको हो।
उनीहरुले गोरखा सदरमुकामतर्फ जाँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको मालबाहक ट्रकलाई बलजफ्ती रोकेर चेकजाँच गरेको, सहचालकको मोबाइल खोसेको र ट्रकमा भएको सामानमा समेत क्षति पुर्याएका थिए।
उनीहरुविरुद्ध सार्वजनिक हित विरुद्धको कसुर अन्तरगत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरी हिरासतमा राखी अनुसन्धानका लागि १० दिनको म्याद भएको प्रहरीले जनाएको छ।