बढुवा रोक्का भएका जर्नेललाई प्रधानसेनापति शर्माले दिए न्याय
सेनापति प्रभुराम शर्मा र सहायकरथी बाबुराम श्रेष्ठ।
काठमाडौं – नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथी बढुवाका लागि सिफारिस भएका छन्। सैनिक मुख्यालयले उनको नाम उपरथी बढुवाका लागि सिफारीस गरेपनि मन्त्रिपरिषदले निर्णय गर्न भने बाँकी रहेको छ।
तर उनी चाहिँ परिवन्दमा परेर सैनिक ऐन अनुसार कारवाही भोगेका जर्नेल हुन्। सैनिक अनुशासन उल्लंघन गरेको केस लगाएर २७ बाहिनीमा कारबाही गरी नसियत गरिएका अधिकृत हुन्।
श्रेष्ठलाई २७ बाहिनीको बाहिनीपति हुँदा आफ्नो क्षेत्रका बासिन्दालाई ल्याएर भर्ना फारम भर्न लगाएको भन्दै नसियत दिइएको थियो। तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनी संलग्न हुँदै नभएको घटनामा पूर्वाग्रह सांधेर कार्वाही गरिएको बताइन्छ।
श्रेष्ठ सेनाका २६ बेसिकका अधिकृत हुन्। उनले पाकिस्तानबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन्। उनी हाल सेनाको तालिम महानिर्देशनालयमा कार्यरत छन्।
हालका प्रधानसेनापति प्रभुराम शर्माले भने उनको बढुवा सिफारीस गरेपछि श्रेष्ठलाई न्याय मिलेको चर्चा सैनिक मुख्यालयमा सुनिन्छ। श्रेष्ठको व्याचका सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल ३ जना उपरथी भइसकेका छन्।
त्यसैगरी सहायकरथी इश्वरकान्त मैनालीको नाम पनि उपरथीमा बढुवाका लागि सिफारीस भएको छ। पश्चिम कमाण्डमा कार्यरत मैनालीको भर्खरै उपत्यका कमाण्डमा सरुवा भएको छ। उनलाई अवकासमा जानुअघि विशेष निर्णय गरेर सम्मानस्वरुप उपरथीमा बढुवा दिने निर्णय भएको हो।