दसैं सुरक्षा योजना: मकवानपुरमा सुरक्षा व्यवस्था कडा


काठमाडौं – आसन्न नेपालीहरूको प्रमुख चाडपर्वको समयमा जिल्लाभित्र भरपर्दो शान्ति सुव्यवस्था कायम राख्न र कोभिड-१९ को सन्दर्भमा जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित रहँदै चाडपर्वहरू मनाउनु पर्ने बाध्यतात्मक परिस्थिति समेतलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुरक्षा योजना सार्वजनिक गरेको छ।

चाडपर्व लक्षित सुरक्षा योजना, २०७८ सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डेले कोरोना संक्रमणको दर कम देखिए पनि जोखिम कायमै रहेकाले सुरक्षित रहेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैलाई आग्रह गरेका छन्। चाडपर्व मनाउने तथा यात्रुहरुलाई एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्न सहज वातावरणको सिर्जना हुने पाण्डेले बताए।

सुरक्षा योजनाको कार्यान्वयनबाट सम्पूर्ण क्षेत्रमा सुरक्षित एवं भयरहीत वातावरणको प्रत्याभूती एवं जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्दै कार्यालयले चाडपर्वको अवधिमा यात्रीहरुको सहजताका लागि उचित वातावरण तयार गर्नसमेत यातायात व्यवसायीहरुमा आग्रह गरेको छ।

सार्वजनिक यातायातका साधनहरूमा क्षमताभन्दा बढी यात्री नराख्न, यात्रीहरूलाई आवतजावतका क्रममा ठगिनबाट जोगाउन यातायातका साधनमा सबैले देख्ने गरी भाडादर टाँस्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ।

त्यस्तै यात्रुहरुको सहायताका लागि हेटौंडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिकसहितको नागरिक सहायता कक्ष स्थापना गर्न सम्बन्धित पक्षलाई निर्देशन समेत दिइएको छ।

सार्वजनिक यातायातका साधनहरूमा कोभिड-१९ संक्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाइने कार्यालयले जनाएको साथै, तोकिएको भन्दा बढी भाडा लिने र दिने दुवै उपर तत्काल कारबाही गरिने समेत उल्लेख छ।

जिल्लाको चारैतिर सुरक्षा व्यवस्था कडा : मकवानपुर प्रहरी प्रमुख

जिल्लामा कुनै पनि प्रकारको अपराधिक क्रियाकलाप नहुन दिनका लागि विशेष सुरक्षा योजना लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र सिंह राठौरले बताए।

दशै, तिहार र छठ पर्वलाई लिएर हामी निकै सजग छौँ एसपी राठौरले अनलाइनन्युजसगँ भने जिल्लाको शान्ति सुरक्षाका लागि हामीले कुनै कसर बाकी राख्दैनौँ।

सुरक्षा व्यवस्था अन्र्तगत जिल्लाको मुख्य मुख्य चोकहरुमा पिकेट खटाई २४ घण्टा नै प्रहरी तैनाथ रहने, नगर तथा बढी भिडभाड हुने स्थानहरुमा पैदल गस्ती परिचालन गर्ने, मोबाईल गस्ती परिचालन गर्ने, विभिन्न स्थानमा अचानक सुरक्षा चेकजाँच गरिने एसपी राठौरले बताए ।

उनका अनुसार यस्तै क्विक रिस्पोन्स टिम (क्युआरटी) को टोली (तत्काल सहयोगको लागि मोटरसाइकल टोली), विभिन्न स्थानमा सिसिटिभी क्यामराले समेत निगरानि राखिने लगायतको सुरक्षा व्यवस्था रहेको छ ।

चाडवाडको समयमा मानिसको बढी भिडभाड हुने स्थानमा अपराधीले अनुकुल समय पारी घटना घटाउन सक्ने भएकोले त्यस्ता घटनालाई न्युनिकरण गर्न क्युआरटी परिचालन गरिएको हो ।

उनले जिल्लाको चारै तिर कडा सुरक्षा व्यवस्था रहने भएको कारण प्रहरीले घटनाको खबर पाएको १० मिनेटभित्र घटनास्थलमा पुग्ने दावी गरे।

यसैगरी बिशेष सुरक्षा ब्यावस्था अन्र्तगत राजमार्गका चल्ने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी ईत्यादी नहुन दिनका लागि हतियारसहित प्रहरी खटाइएको उनले बताए।

यस्तो छ सुरक्षा योजना सार्वजनिक

-सार्वजनिक यातायातका साधनहरूमा कोभिड-१९ संक्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाइने।

-यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको चार्डपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरुलाई आवश्यक सहयोग गरिने। साथै, तोकिएको भन्दा बढी भाडा लिने र दिने दुबै उपर तत्काल कारबाही गरिने।

-लोकमार्गमा हुनसक्ने दुर्घटना,चक्काजाम,बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधनसञ्चालन हुने व्यवस्था मिलाइने।

-सुरक्षित यात्राका सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरमार्फत सचेतनामूलक सन्देश प्रचार प्रसार गरिने।

-बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वभाविक मूल्य वृद्धि जस्ता क्रियाकलाप गर्नेलाई तत्काल कानूनी दायरामा ल्याइने।

-बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाइने।

-कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सबै प्रकारका मेला, महोत्सव, सांगितिक कार्यक्रम, चिठ्ठा विक्री वितरण एवं खोल्ने कार्यमा पूर्णरूपमा रोक लगाइने।

-मठ मंन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चतता गरिने।

-जुवातास, कौडा खेल्ने लगायतका गैरकानूनी क्रियाकलापहरू नियमित अनुगमन गरी नियन्त्रण गरिने।

-विपद्जन्य घटनाहरूबाट सृजित परिस्थितिको व्यवस्थापनका लागि तुरुन्त योजनाबद्धरूपमा परिचालन हुने व्यवस्था मिलाइएको।

प्रतिक्रिया