

दुबईबाट कसरी आयो शेर्पाको खातामा १६ करोड?

काठमाडौं– संयुक्त अरब इमिरेट्सको दुबईस्थित एउटा बैंकबाट नेपाल बंगलादेश (एनबी) बैंकमा एक व्यक्तिको खातामा अवैध रुपमा १६ करोड रूपैंया भित्रिएको छ।
दुबईमा रहेको एक बैंकबाट सिन्धुपाल्चोकका छिरिङ शेर्पाको नाममा रहेको खातामा नेपाल बंगलादेश बैंकमा रकमान्तर भएको हो। शेर्पा सिन्धुपाल्चोक जुगल गाँउपालिकाका सामान्य व्यक्ति हुन्। सामान्य कारोबार भएको बैंक खातामा यति ठूलो रकम एकै पटक रकमान्तर भएपछि बैंकमा खैलाबैला मच्चिएको छ।
उक्त खाताको कारोबार तत्काल रोक्का राख्न राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई पत्रचार गरेको छ। हाल उक्त खातामा भएको रुपैंया रोक्का राखिएको छ। तर केही दलाल र बैंक माफिया तथा केही राजनीतिक दलका नेताहरु पैसा निकासा गराउन चलखेलमा लागेका छन्।
राष्ट्र बैंक र नेपाल बंगलादेश बैंकका उच्च कर्मचारीको सेटिङमा ठूलै रकमको चलखेलपछि बैंकले रोक्का रकम फुकुवा गर्ने तयारी गरेको बताइन्छ। यति ठूलो रकम कुन प्रायोजनको लागि आएको हो भन्ने बिषयमा अनुसन्धानका लागि बैंकले नेपाल प्रहरीलाई पनि खबर गरेको छैंन।
यस्ता आर्थिक अपराधहरुको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले हेर्दै आएको छ। राष्ट्र बैंकले खाता रोक्का राखी उक्त पैसाको स्रोतको लागि नेपाल प्रहरी र सम्पत्ती शुद्धिकरण अनुसन्धान बिभागलाई पत्रचार गर्नुपर्छ। उक्त घटनालाई गुपचुप राखी ठूलै रकमको चलखेल पछि खाता फुकुवा गर्ने तयारीमा राष्ट्र बैंक र नेपाल बंगलादेश बैंक रहेको छ।
अवैध रुपमा भित्रिएको उक्त पैसा निकाल्न बैंक कर्मचारी मिलाउन सिन्धुपाल्चोकका नेपाली कांग्रेसका नेता र नेकपाका नेता नै लागि परेको समेत खुलेको छ। सो रकम निकासा गराउन प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाको नाम पनि दुरुपयोग गरिएको सिन्धुपाल्चोकका एक स्थानीय नेताले बताए।
स्रोतका अनुसार उक्त रकम सिन्धुपाल्चोका ‘सुन तस्कर’को हो । जो दुई दशकदेखि सुनको कारोबार गर्दै आएका छन् । खातावाला शेर्पा भने सुन तस्करका कामदार हुन्।
सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापाले बैंकबाट छानबिनका लागि कुनै पत्र नआएको बताए । ‘यस्तो केही रहेछ र हाम्रो क्षेत्रधिकार भित्र पर्ने आर्थीक अपराध भए सिआईबीले अनुसन्धान गर्छ’, उनले भने।
नेपाल बंगलादेश बैंकका प्रवक्ता सुरेश देवकोटाका अनुसार यसरी रकम पठाएको खण्डमा सिधा खातामा जम्मा गर्न सकिँदैन।
‘यदि उता (दुबई)बाट पठाएको हो भने पनि पठाउने बेला त्यसको स्रोत र प्रयोजनको विषय हेरिन्छ, यता हामीले पनि स्रोत र प्रयोजन हेर्ने त भइहाल्यो तर यति ठूलो रकमका विषयमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ’, देवकोटाले भने,‘सम्बन्धित व्यक्तिका विषयमा भने पूरा विवरण बुझेपछि भन्न सजिलो हुन्छ। तर विभिन्न कानुनी र प्रणालीका सबै चरण पार नगरी रकम जम्मा हुन्छ भन्ने छैन, कसको खातामा के प्रयोजन र कुन स्रोतबाट आएको भन्ने पूरा जानकारी र प्रमाणको खोजी अनिवार्य गर्छौं, यो विषय राष्ट्र बैंकलाई पनि जानकारी गराउनुपर्छ।’
नेपाल बंगलादेश बैंकको उक्त खातामा आएको रकमबारे राष्ट्र बैंकले कसरी निगरानी र जानकारी राखेको छ भन्ने विषयबारे केही खुलाइएको छैन। अनलाइनन्युज सेभेनले राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टसँग यस विषयमा जानकारी लिने प्रयास गर्दा फोन उठ्न सकेन।

