कोरोनाले खस्कियो शिकारः एक झारल र एक नाउर मात्र शिकार


खेमराज गौतम(रासस)

गलकोट कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ । कोरोना कहर हुन्थेन भने यतिबेला बागलुङको ढोरपाटन शिकार आरक्षमा विदेशी पर्यटकको चहल पहल हुन्थ्यो । यस वर्षको पहिलो शिकार याम शुरु भइसके पनि कोरोनाका कारण विदेशी शिकारी कम आउँदा जम्मा एक झारल र एक नाउरको मात्र शिकार भएको छ भने शिकारसँग जोडिएको पर्यटन खस्किएको छ ।

कोरोना अगाडि धेरै नाउर र झारल शिकार गर्ने नेपालको एक मात्रै शिकार आरक्षण ढोरपाटन शिकार आरक्षण बागलुङमा यस वर्षको पहिलो शिकारयाममा जम्मा एक नाउर र एक झारलको मात्रा शिकार भएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।

कोरोना त्रासले गत वर्षको चैतदेखि शिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो याममा तोकिएको एक झारल र एक नाउरको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो याममा १० नाउर र ६ झारलको शिकारको लागि असोज ९ गते बोलपत्र प्रकाशन गरेकोमा कोरोनाले गर्दा एउटा कम्पनीले मात्रै आवेदन दिएपछि यस वर्ष शिकार पर्यटन घटेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

विभागले शिकारका लागि अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र प्रस्ताव पेश गरेको थियो । अन्य कम्पनीले नेपालमा कोरोनाका कारण देखाउँदै शिकार गर्न नआएका हुन् । शिकार आरक्षको धुस्तुङ्ग ब्लकमा एक झारल र एक नाउरको शिकार गर्न उक्त कम्पनीलाई अनुमति दिएको र सोही अनुरुप शिकार भएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।

विभागको अनुमतिमा आएका शिकारी मङ्सिर ५ देखि ९ गतेसम्म उक्त ब्लकमा गएर एक नाउर र एक झारलको शिकार गरिएको हो । गत वर्षको दोस्रो सिजनमा कोरोनाले गर्दा १० नाउर र पाँच झारलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो, उनले भने, ‘यस अघि अनुमति लिए पनि बन्दाबन्दीले शिकार भएन । प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार कोरोनाले विदेशी शिकारी नगन्य मात्रमा आउँदा राजश्व घटेर शून्यजस्तै भएको छ भने आरक्षमा पर्यटकको चलहपहल ह्वात्तै घटेको पाइएको छ ।

नेपाल ट्राभल्स सफारी कम्पनीमार्फत बेल्जियम नागरिकले मात्रै यसपटक ढोरपाटनमा शिकार गरेका हुन् । विदेशी शिकारीले नाउरका लागि रु एक लाख ६० हजार र झारलको लागि रु ९० हजार राजश्व बुझाएका थिए ।

प्रतिस्पर्धा नहुँदा नाउर र झारलको शिकार मूल्य निकै घटेर गएको छ । शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्ने व्यवस्था छ । आरक्षणमा शिकारका लागि अमेरिका, रसिया, स्पेनलगायत देशबाट धनाढ्य शिकारी हेलिकप्टर चार्टर गरी ढोरपाटन आउने गरेका छन् ।

आरक्षणमा असोजमङ्सिर पहिलो र फागुनवैशाख दोस्रोयाममा शिकार हुने गरेको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्ष फैलिएको छ । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको शत्रुमर्दन गुल्मसमेत आरक्ष क्षेत्रमा स्थापना गरिएको छ ।

कोरोनाअघि हिमालयन सफारिज, ग्लोबल सफारिज, नेपाल वाइल्ड लाइफ एडभेन्चर, हिमालय आउटफिटर, ट्रयाक एण्ड ट्रेल्स, नेपाल वाइल्ड फाइ, समारीलगायत कम्पनीमार्फत शिकारका लागि शिकारी आउने गरेका थिए । कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले बोलपत्रै भरेनन् ।

प्रतिक्रिया