कोभिड–१९ अस्थायी अस्पताल स्थापना


बागलुङ–काठेखोला गाउँपालिका–६ मा कोभिड–१९ अस्थायी अस्पताल स्थापना गरिएको छ । अस्पतालको आज गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले उद्घाटन गरे ।

यसअघि सरकारले देशभरका स्थानीय तहमा तीन महिनाका लागि कोभिड–१९ अस्थायी अस्पताल खोल्ने निर्णय गरेको थियो । सोही योजनाअन्तर्गत काठेखोलामा अस्पताल सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका लागि खाली भएको स्थानीय विद्यालय भवन प्रयोगमा ल्याइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको भौतिक संरचना र जनशक्ति व्यवस्थापनका लागि रु दश लाख उपलब्ध गराएको थियो । अस्पतालको आइसोलेसन कक्षमा अक्सिजनजडित पाँचसहित दश श्यया छन् । एक जनस्वास्थ्य अधिकृत, दुई नर्स र एकजना कार्यालय सहयोगी सेवामा खटिएका छन् ।

अस्पतालमा चिकित्सक राख्नका लागि विज्ञापन गरिए पनि कसैको पनि आवेदन नपरेको जनस्वास्थ्य अधिकृत रामचन्द्र लामाले बताए । ‘आइसियु र भेन्टिलेटर बाहेकका अन्य सुविधा यही उपलब्ध छन्, लक्षणका आधारमा सङ्क्रमितको उपचार गर्छौं’, उनले भने ।

बिरामीलाई गम्भीर स्वास्थ्य जटिलता देखिएमा भने सदरमुकामस्थित धवलागिरि अस्पताल पठाइने अधिकृत लामाले बताए । गाउँपालिका अध्यक्ष थापाले अस्पताल स्थापनासँगै कोरोना सङ्क्रमितको उपचार, हेरचाह र परामर्श सेवा सहज भएको बताए । उनले कोरोना व्यवस्थापन र रोकथाममा गाउँपालिकाले चालू आवमा रु ८० लाख बजेट छुट्याएको उल्लेख गरे । ‘सङ्क्रमितलाई औषधोपचार, खाना, खाजादेखि एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराएका छौँ, अस्तपालको सेवालाई थप स्तरीय र प्रभावकारी बनाउँछौँ’, उनले भने ।

गाउँपालिकामा अहिले कोरोनाका सक्रिय सङ्क्रमित चार छन् जसमध्ये दुई सोही अस्पताल र दुईजना होम आइसोलेसनमा छन् । कूल ६२३ जनाको कोरोना जाँच गरिएकामा हालसम्म ७८ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका अन्य स्थानीय तहमा पनि कोभिड–१९ अस्थायी अस्पताल सञ्चालित छन् ।

(रासस)

प्रतिक्रिया