

तनहुँको लफडाले आईजीको बाटो मोडियो, जानुपर्ने पोखरा पुगे हेटौंडा

► रवि धामी
काठमाडौं – नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री बुधबार पहिलो पटक उपत्यकाबाहिर निरीक्षण भ्रमणमा निस्किए। उनको मुकाम थियो गण्डकी प्रदेशको राजधानी पोखरा। तर, निर्धारित कार्यक्रम नै परिवर्तन गरेर उनी पुगे बागमती प्रदेशको राजधानी हेटौडा ।
गण्डकी र बागमती प्रदेशमा रहेका प्रहरी कार्यालयहरुको निरीक्षण तथा निर्देशन भ्रमण सकेर बीपी राजमार्ग हुँदै सोमबार राजधानी फर्किने पुर्वनिर्धारित कार्यक्रम नै परिवर्तन गर्नु परेको छ। कारण हो, तनहुँमा सत्ताधारी नेकपा र विपक्षी नेपाली कांग्रेसको लडाई ।
केन्द्रको बजेटमा बनेको पुललाई बिपक्षी कांग्रेसले उद्घाटन गर्न लागेको भन्दै नेकपाका सांसद किसान श्रेष्ठको समुहले रोक्न खोजेपछि तनहुँ दिनभरि जसो तनाबग्रस्त रह्यो। दाेहोरो झडपको अवस्था आएपछि स्थानीय प्रशासनले निषेधाज्ञा नै घोषणा गरेको थियो तर निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न लागेपछि प्रशासनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएपछि अबेर साँझ मात्र लफडा साम्य भएको थियो।
तनहुँमा लफडा नहुँदै आईजीपी उपत्यकाबाट पोखराका लागी निस्किसकेका थिए, बाटोमा जाँदै गर्दा तनहुँमा लफडा भएको थियो, तर लफडा साम्य भएपछि गन्तब्य पोखरामै पुग्ने योजनामा उनी थिए। ईलाका प्रहरी कार्यालय डुम्रे तनहुँमा एक घन्टा बसेका आईजीपी अन्ततः बाटो नखुल्ने देखेपछि गन्तब्य परिवर्तन गर्न बाध्य भए। आईजीपीका लागी नै बाटो खोल्न नसकेपछि तनहुँका एसपी अरुण पौडेलको संगठनभित्र आलोचना भएको छ।
प्रहरी स्रोतका अनुसार प्रदेश प्रहरी कार्यालयको गेष्ट हाउसमा बस्ने तय भएको कार्यक्रम परिवर्तन गरेर उनी बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा बस्न पुगेका छन् । बिहीबार पोखरामा गर्ने भनेको निरीक्षण र निर्देशन हेटौडामा सरेको छ।
गण्डकी प्रदेशको निरिक्षण सकेर बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन हुने कार्यक्रम तय भएको थियो अब कार्यतालिकामा पुरै परिवर्तन गर्नुपर्ने भएको छ आईजीपी थापाको सचिवालयले अनलाइनन्यूजसेभेनसँग भन्यो। प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीको निरीक्षण सकेर बीपी राजमार्गबाट काठमाडौ फर्किने पुर्वनिर्धारित कार्यक्रममा परिवर्तन हुन्छ नै सचिवालयका एक अधिकृतले भने।

