
घुमुवाले मात्र होइन, महिलाले पनि उठाउँछिन् डिआईजीको पैसा!
काठमाडौं – रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा स्थायी दरबन्दीमा शिक्षक बनाइदिने भन्दै एक महिलाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारको पैसा उठाउने गरेको पाइएको छ।
ती महिलाले डिआईजी रन्जितकारको नाममा पैसा मागेको डकुमेन्ट र अडियो अनलाइनन्युजलाई प्राप्त भएको छ। विगत ५ वर्षदेखि नेपाल पुलिस स्कुल गरुडा, रौतहटमा अध्यापन गराइरहेका पर्साका उदास कुमार पाण्डेसँग दाहालले पैसा मागेकी हुन्।
सर्लाहीका सुशीला थापा दाहालले पर्सा मणिपुरका पाण्डेसँग ६ लाख रुपैयाँ मागेकी छन्। अनलाइनन्युजलाई प्राप्त फोन रेकर्डमा डिआईजी रन्जितकारको निर्देशनमै दाहालले पैसा मागेको कुरा सुन्न सकिन्छ। स्रोतका अनुसार महिला थापालाई डिआईजी रन्जितकार आफैंले पैसा उठाउनको लागि राखेका हुन्।
पुलिस स्कुलमा करारमा जागिर खाइरहेका पाण्डेले १६ चैतमा शिक्षक पदपूर्तिको परीक्षामा नाम निकाले। जतिबेला पाण्डे एक्लैले नाम निकालेका थिए। स्थायी दरबन्दीमा नाम निकालेका पाण्डेसँग त्यसपछि स्कुलले प्रहरीसँगको मिलेमतोमा पैसा असुल्नको लागि अनेक प्रपञ्च रच्यो।
स्कुलमा जागिर खाने हो भने ६ लाख रुपैयाँ चाहिने भन्दै महिला थापाले मागेपछि डिआईजी रन्जितकारमाथि नैतिकताको प्रश्न उठको छ। पुलिस स्कुलका प्रिन्सिपल हुन् सिताराम भट्टराई। प्रिन्सिपल, डिआईजी र अर्का एकजना बाहिरका मान्छेलाई पैसा दिनुपर्ने महिलाले फोनमा भनेकी छन्।
यसअघि डिआईजी रन्जितकारले घुमुवा राखेर पैसा उठाउने गरेको आरोप लागेको थियो। तर, घुमुवाले मात्र होइन डिआईजीको लागि महिलाले पनि पैसा उठाउन थालेपछि प्रहरी प्रधान कार्यालयभित्र हंगामा मच्चेको छ।
स्रोतका अनुसार ती महिलाले २ नम्बर प्रदेशका अधिकांश जिल्लामा पुगेर डिआईजी रन्जितकारको पैसा उठाउने गरेकी छन्।
(डिआईजीले पैसा उठाउन महिलालाई खटाएको खबरबारे हामी निरन्तर फलोअपमा छौँ। अडियोसहितको समाचार पढ्न अनलाइनन्युज७ खोल्दै गर्नुहोला।)



सुजन पन्त |
