‘हनिट्रयापर’ तीन महिलाः ५० लाख बार्गेनिङ, १८ लाख लुट


काठमाडौं– एक व्यावसायी पुरुषलाई होटलमा खाजा खान बोलाई १८ लाख लुट्ने तीन जना महिलालाई प्रहरीले दाङको घोराहीबाट नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। ‘होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुलेको पाइयो’, दाङ प्रहरी स्रोतले भन्यो।

आइतबार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ। हनी ट्रयापमा पारेर उनीहरूले पैसा असुलेको प्रहरीले जनाएको छ।

१ लाख नगद र १७ लाख चेक लिएका घोराही–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई प्रहरीले सार्वजनिक गरेको हो। अनुसन्धानका क्रममा ५० लाख रुपैयाँको बार्गेनिङ गरी १८ लाख लिएको पुष्टि भएको छ।

घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसीलाई (नाम परिवरन) गरेका व्यवसायीलाई ६ असारमा घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु मगाएर खाने साँझ परेपछि घर जाउभन्दा महिलामाथि हातपात गरेको भन्दै जबरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैयाँ दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेन्द्रप्रसाद काफ्लेले जानकारी दिए।

‘पक्राउ परेकामध्ये सितादेवी थापा र खुमा वलीले भद्रबहादुर जैसीलाई फोन गरी मेरो घरायसी विषयको मुद्दा छ, तपाई कानुन जानेको मान्छे भनी घोराही–१५ मा रहेको कोहिनूर रेष्टुरेन्टमा बोलाएका रहिछन्’, पत्रकार सम्मेलनमा प्रहरी प्रमुख काफ्लेले भने– ‘रेष्टुष्टमा आएपछि बियर, मासु खाएछन्। त्यसपछि ती पुरुषलाई तथानाम गालीगलौज गर्दै तलाई महिलाको इज्जतमाथि हात हाल्नेलाई जवरजस्ती करणीको मुद्धा हाल्दै भनेर सुरुमा निस्किएका रहिछन्।’

त्यसपछि तीन व्यक्तिलाई फोन गरी घोराहीमा रहेको सागर एण्ड सुनिल रेष्टुरेण्ट तथा लजमा बोलाई छिटो कुरा मिलाउनुपर्यो नत्र प्रहरीमा उजुरी हाल्छौं भनी डर त्रास देखाई ५० लाख रुपैयाँ माग गरेकोमा अन्त्यमा एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको सिभिल बैंकको चेकमा जबरजस्ती दस्तखत गराई लिइसकेको अवस्थामा प्रहरीले शनिबार घोराहीबाट महिलाहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख काफ्लेले बताए।

मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक आर्थिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन लागेको छ।

प्रतिक्रिया