रामेछाप पुगेर सिआईबीको अप्रेशनः २५ किलो सालकको खपटासहित दुई जना पक्राउ


काठमाडौं – रामेछापबाट सालकको खपटा (आखेटोपहार) सहित दुई जना व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) बाट खटिएको टोलीले २५ केजी खपटासहित दुई जनालाई पक्राउ गरेको हो।

ब्यूरोका अनुसार पक्राउ पर्नेहरुमा रामेछापबाट स्थानीय सोनाम तामाङ र ध्यान बहादुर तामाङ रहेका छन्। संरक्षित वन्यजन्तुमा पर्ने सालकको खपटाको अवैध ओसारपसार तथा बिक्री बेचविखन हुन लागेको सूचनाका आधारमा उनीहरु पक्राउ परेका सिआईबीले जनाएको छ।

सिआईबीको टोली रामेछापमै पुगेर उक्त परिमाणको सालकको खपटासहित तामाङद्वयलाई पक्राउ गरेको सिआईबीका प्रवक्ता श्याम कुमार महतोले जानकारी दिए।

आफै ग्राहक बनेर पुगेको सिआईबीको टोलीले रामेछापको मन्थली नगरपालिका– १, देवकोटा चोकबाट २५ केजी उनीहरुलाई पक्राउ गरेको महतोले बताए।

लिखु तामाकोशी गाउँपालिकाका तामाङद्वयलाई पक्राउ गरी डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको सिआईबीले जनाएको छ। सालकको अवैध खपटा चीन, भियतनाम लगायतका देशमा पुग्ने गरेको छ।

नेपालको मध्यपहाडी क्षेत्रमा पाइने सालक विश्व वन्यजन्तु कोषले संरक्षित जनावारको सूचीमा राखेको जीव हो सालक। उक्त जीव मार्ने, अवैधओसार र विक्री वितरण गर्ने व्यक्तिलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ देखि १५ वर्षसम्मको कैद सजाय वा दुवै सजायको व्यवस्था गरेको छ।

प्रतिक्रिया