

एमाले नेताहरूसँग फोटो खिच्ने, शक्ति केन्द्रका आडमा लाखौं ठग्ने यस्तो रहेछ कट्वाल काइदा
अपराध महाशाखाले पक्राउ गरेपछि खुलिरहेको छ युवा संघ सचिवालय सदस्यका अनेक कतुर्त

काठमाडौं– रुमेश कट्वालका नामले चिनिने रुसिल कट्वाललाई महानगरीय अपराध महाशाखाले ठगी प्रकरणमा नियन्त्रणमा लिएपछि उनका अनेक हर्कतबारे खुलासा भएका छन्।
युवा संघ सचिवालय सदस्य कट्वालको काम नै धोकाधडी, ठगी गर्ने रहेको प्रहरीको बुझाई छ। यसबाहेक एमालेका उच्च तहका नेतासँग तस्बिर खिचाउने र त्यसैका आडमा आफू शक्ति केन्द्रमा रहेको भन्दै मानिसलाई धम्क्याउनेसम्मका काममा कट्वालको संलग्नता पाइएको छ।
सुनसरीको धरान उपमहानगरपालिका–९का कट्वाल र मोरङको केराबारी गाउँपालिका–६का धीरजकुमार दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका २ घर भई काठमाडौंको सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीलाई नराम्रोसँग ठगेका थिए।
धीरजको नाममा रहेको मोरङको केराबारी–६ (क) को कित्ता नम्बर ६ सय ३८ को एक आना र कित्ता नम्बर ६४० को ७ आना २ पैसा जग्गा विक्री गर्नका लागि बैना बापत नेपाल इन्भेष्टमेन्ट बैंकको बत्तिस पुतली शाखाबाट ६८ लाख रुपैयाँ निकालेका थिए।
जग्गा विक्री गर्नुको सट्टा सम्पर्क विहिन भएपछि पीडितले खोजीनीति गरेपछि कट्वालको काइदाबारे खुलासा भएको हो। २० असारमा मालपोत कार्यालय मोरङमा गएर बुझ्दा उक्त जग्गाहरु बिक्री भइसकेको पाइएको थियो। सोही ठगी अभियोगमा प्रहरीले कट्वाललाई पक्राउ गरेको हो। धीरज भने फरार रहेको प्रहरीले जनाएको छ।
यति मात्र होइन कट्वालले धरानकै एक जना व्यक्तिलाई गाडी दिलाउने भन्दै २० लाख रुपैंया खाइदिएको खुलासा भएको छ। ति व्यक्तिले महाशाखामा उक्त रकमको दाबी गर्ने तयारी गरेका छन्। ‘यसले निक्कै ठगेको हुनसक्छ, हामीलाई विभिन्न ठाउँबाट फोनहरु आउन सुरु गरेका छन्’, अपराध महाशाखाका एक अधिकारी भन्छन्,‘अनुसन्धान जारी छ।’
कट्वालको मुख्य काम भनेको एमालेका नेताहरूसँग तस्बिर खिचाएर त्यसैको भरमा दुरुपयोग गरी फाइदा लुट्नु हो। युवा संघका कार्यकर्ता भएका कारण महेश बस्नेत, निरु पालदेखि एमालेका अन्य नेतासँग उनको सामान्य चिनजान छ। तिनै चिनजानका आधारमा खिचाइएका तस्बिरको कट्वालले दुरुपयोग गर्छन्।
उनले एमालेमा राम्रोसँग चिन्ने नेताचाहिँ महासचिव ईश्वर पोखरेल रहेका कारण ठगी प्रकरणमा सबैभन्दा बढी उनैको नाम दुरुपयोग गर्दै आएको पनि खुलेको छ। कट्वालले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग खिचेका तस्बिर पनि दुरुपयोग गर्छन्।

