मदिरा सेवन गरेर कुटपिट गर्दा गुल्मीमा एकको मृत्यु


काठमाडौं – मादक पदार्थ खाएर कुटपिट गरेपछि गुल्मीमा एक जनाको हत्या भएको छ। हत्याको आरोपमा मादक पदार्थ सेवनकर्ता दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा चन्द्रकोट गाउँपालिका ७, बतासे बस्ने २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका ३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन्।

कुटपिटबाट चन्द्रकोट गाउँपालिका ७ बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीको मृत्यु भएको हो। सामान्य विवादबीच शिवकै भतिजो पर्ने हिमबहादुर र हिमालले मादक पदार्थ सेवन गरी शिवलाई निर्घात् कुटेको अनुसन्धानबाट खुलेको छ।

शिवलाई उपचारका लागि स्थानीय मेडिकल मजुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया