

प्रहरीको हिरासतमा रहेका अभियुक्त हवल्दारलाई झुक्यार अस्पतालबाट फरार

वीरगन्ज – वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् ।
लागु औषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सुनार आज (आइतबार) बिहान फरार भएका हुन् ।
भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सुनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो । उनको साथबाट लागु औषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो ।
लागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सुनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यही दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा एक जना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सुनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको प्रहरी उपरीक्षक पाण्डले बताए ।
प्रहरी हवल्दारको लापरबाहीकै कारण अभियुक्त सुनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए । फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

