उपसभापति निधितिर खुलेका फुपूका छोरालाई कमजोर पार्न डडेल्धुरामा देउवाको वितण्डालिला

अधिवेशनका कार्यक्रमहरु स्थगित, एकपक्षद्वारा २५ गते वडा अधिवेशन घोषणा


डडेल्धुरा– नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौं जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा आयोजित जिल्ला कार्यसमितिको बैठकमा भिडन्त भएको छ ।

नेपाली कांग्रेस डडेल्धुराको बैठकमा दुई पक्षबीच हालै भिडन्त भएको हो। मंगलबार दिउँसो नेपाली कांग्रेस डडेल्धुराको कार्यालय किसुनजी भवनमा आयोजित बैठकमा केन्द्रबाट तोकिएका निर्वाचन अधिकृतले केन्द्रले सार्वजनिक गरेको सदस्यता विवरणका आधारमा निर्वाचनमा जाने प्रस्ताव राखेपछि विवाद सुरु भयो।

क्रियाशील सदस्यता विवादका क्रममा भिडन्त हुन थालेपछि बिहानैदेखि पार्टी कार्यालयमा तैनाथ प्रहरीले हस्तक्षेप गरेको थियो। नेपाली कांग्रेस डडेल्धुराले पत्रकार सम्मेलन गर्दै वडातहदेखि प्रकृयागत ढंगले पठाइएका क्रियाशील सदस्यता थपघट गरी केन्द्रीय निर्वाचन समितिमार्फत नामावली सार्वजनिक भएको विषयमा उत्पन्न विवाद समाधान नहुन्जेल सम्मका लागि जिल्ला अधिवेशनका सम्पुर्ण प्रक्रिय स्थगन गरिएको जनाएको छ।

क्रियाशील सदस्यता विवादका कारण गाँउ बस्तीसम्म मुठभेड हुन सक्ने अवस्थालाई मध्यनजर गरेर प्रक्रियागत रुपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले बताए। उनले जिल्ला कार्यसमितिसँग समन्वय गरेर अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा एकपक्षीय रुपमा जिल्ला निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोमा आपत्ति जनाए।

मल्ल नातामा सभापति देउवाका फुपूका छोरा हुन्। मल्ल केही दिन अघिमात्र सभापतिको दाबेदारी गरी सम्पर्क कार्यालय खोलेका उपसभापति विमलेन्द्र निधितिर खुलेका थिए।

जिल्ला कार्यसमितिले यथास्थितिमा गाउँपालिका–नगरपालिका वडा अधिवेशन आयोजना गर्न नसकिने निर्णय गरेको अवस्थामा निर्वाचन अधिकृत लोकेन्द्र बमले एक विज्ञप्ती जारी गर्दै २५ भदौमा वडा अधिवेशनको कार्यतालिका प्रकाशित गरेको जनाएका छन।

जिल्ला कार्यसमितिसँग समन्वय नगरेर कार्यतालिका प्रकाशित गरिएकोले यो अवैधानिक हुने नेपाली कांग्रेस डडेल्धुराको सभापति पदका आंकक्षी अधिवक्ता हरिप्रसाद भट्टले बताए।

गत आईतबार राती नेपाली कांग्रेस डडेल्धुराको क्रियाशील सदस्यताको विवरण नेपाली कांग्रेसको आधिकारिक वेवसाईडबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृहजिल्लामा तिव्र असन्तुष्टी देखिएको छ।

मुलुककै सबैभन्दा जेठो लोकतान्त्रिक दल मानिने कांग्रेसमा विधि र पद्दतीगत ढंगबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप भएको भन्दै जिल्लास्तरीय नेता कार्यकर्ताहरुले तिब्र असन्तुष्टी ब्यक्त गरेका हुन्।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृहजिल्ला डडेल्धुरामा अघिसारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत रुपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरु मध्ये चार सय ६० जनाको नाम छानविन हटाएर कुनै पनि प्रक्रिया नै नगरी तीन सय १२ जनाको नाम केन्द्रबाटै थपेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टले बताए।

उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्यौलता उत्पन्न भएको जिकिर गरे। केन्द्रीय कार्यालयको मनोमानी र अन्यायविरुद्ध संघर्ष गरेर अघि बढ्ने जिल्लास्तरीय नेताहरु बताउँछन्।

लामो समयदेखि दुईवटा गुटमा रहेको नेपाली कांग्रेस डडेल्धुराको संस्थापन पक्षले पार्टीको केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता वितरणमा धाँदली भएको आरोप लगाएको छ भने केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको संरक्षणमा रहेको अर्को समुहले केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यताका आधारमा वडा अधिवेशनमा जाने निर्णय गरेको छ।

प्रतिक्रिया