कतार रोजगारी ठगी प्रकरणमा पनि तानियो खुश्वु ओलीको नाम


काठमाडौं– कतार प्रहरीमा जागिर लगाइदिने भन्दै आएको पछिल्लो ठगी प्रकरणमा मोडल भनिने इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीको प्रेमिकाका रुपमा विख्यात खुश्वु ओलीको नाम तानिएको छ।

विवरणहरूमा आएअनुसार यस ठगी प्रकरणमा आफ्नो संलग्नतालाई उनले खारेज गरेकी छन्। तर नेपालस्थित कतारी कुटनीतिक नियोग प्रमुख युसुफ बिन मोहम्मद अल हैलसँगको सम्बन्धका कारण म्यानपावर कम्पनीलाई समन्वय गर्न ओलीको सहयोग रहेको आरोप लागेको छ।

ओलीको नाम विभिन्न विवादीत विषयमा मुछिने गरेको छ। चरीसँग जोडिएको उनको नाम पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्धको फाइदा उठाएको भन्नेमा मात्र आएन, चेक बाउन्स प्रकरणमा अदालतले दोषी नै करार गरेका विवरण पनि सतहमा आएका थिए। यही सन्दर्भमा कतार रोजगारीको ठगी प्रकरणमा पनि उनलाई तानिएको छ।

ओलीले नै १७ वटा म्यानपावरका प्रतिनिधिलाई राजदूतसँग मिलाएको भन्ने विवरण आएका थिए।

नेपालस्थित कतारी कुटनीतिक नियोग प्रमुख युसुफको प्रत्यक्ष संलग्नतामा नै कतार प्रहरीमा जागिर लगाइदिने बाहनामा नेपाली कामदारलाई ठगी गरिएको आरोप लागिसकेको छ। नेपालस्थित दूतावासले पनि यसको खण्डन गरिसकेको छ।

त्यसो त यो सिन्डिकेटका विषयमा युसुफलाई जानकारी नभएको होइन। केही व्यावसायीले यस्तो सिन्डिकेट हुन लागेको युसुफ बिन मोहम्मद तथा कन्सुलर खालिफा अहमदसँग भेटेरै कात्तिकको अन्तिम साता जानकारी दिएका थिए।

भेटवार्ताका क्रममा राजदूत युसुफ बिन मोहम्मदले कतार रोजगारीमा सिण्डिेकट खडा गर्न लागिएको भन्दै विभिन्न सञ्चारमाध्यमा आएका समाचारहरुमा वास्तविकता नभएको बताएका थिए। तर कतार प्रहरीका लागि भन्दै रोजगारीको अन्तरवार्ताको क्रममा कुटनीतिक नियोगको गाडी नै फेला परेपछि भने राजदूत पनि शंकाको घेरामा तानिएका थिए।

यो पनि पढ्नुहोस्

अवैध धन्दामा कतार दूतावासको संलग्नता पुष्टि, कामदार पठाउन १७ म्यानपावरको सिन्डिकेट

प्रतिक्रिया