आक्रामक शैलीमा उत्रिए एसएसपी सिंह, गुन्डा नाइके चक्रे मिलनको बिच सडकमै खानतलासी


काठमाडौं– भर्खरै महानगरीय काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंह गुन्डागर्दीविरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन्।

पछिल्लो समय राजधानीमा पुराना गुण्डाको चहलपहल बढेपछि एसएसपी सिंहले कठोरता प्रस्तुत गरेका छन्। सिंहले आफू माथाहतका प्रहरी इकाईलाई गुण्डागर्दीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन आदेश दिएका छन् ।

सिंहले आदेश दिएको भोलीपल्टै गुन्डानाइके मिलन गुरुङ –चक्रे मिलन)लाई प्रहरीले खानतलासी गरेको छ। दरबारमार्ग क्षेत्रमा सुजुकी कम्पनीको भिटारा गाडीमा रहेका चक्रेलाई दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिई गाडी सहित खानतलासी गरेको थियो।

राजधानीका केही पुराना गुण्डा फेरि हातहतियार सहित हिँड्ने गरेको सूचना प्रहरीमा पुगेको थियो । सोही आधारमा बीच सडकमा एक घन्टासम्म चक्रे मिलनको खानतलासी गरिएको हो।

केही बरामद नभएपछि उनलाई छाडिएको थियो । पछिल्लो समय गुन्डानाइकेले धन्दा परिवर्तन गर्दै मिटर ब्याजमा पैसा लगाउनेदेखि जुवा खेलाउने कामलाई सक्रियता दिएको बताइन्छ।

एसएसपी सिंहले चक्रे मिलनलाई प्रहरीले खानतलासी गरेको र केही नभेटिएपछि छाडिदिएको पुष्टि गरे।  ‘नियोजितरुपमा कसैलाई प्रहरीले दुःख दिँदैन तर गैर कानुनी धन्दामा सक्रिय रहेका कसैलाई पनि कानुनको दायरामा ल्याउन कसर छाँडिन्न’, सिंह भन्छन्।

गुन्डागर्दीको आडमा आपराधिक घटना गराउने र गैर कानुनी धन्दामा लागेका गुन्डाहरूमाथि प्रहरीले निगरानी बढाउन थालेको छ।

प्रतिक्रिया