

सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका

गण्डकी – गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले सराङकोटको पर्यटन विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छन् ।
सराङकोट धार्मिक एवं पर्यटन विकास समितिले निर्माण गरिरहेको भ्यूटावर र शिव मन्दिर आइतबार अवलोकनका क्रममा मन्त्री थापाले यस क्षेत्रमा पर्यटकको आकर्षण बढाउन निजी क्षेत्रबाट ठूलो लगानी भइरहेको बताइन् ।
पर्यटन क्षेत्रको विकासमा सरकार निजी क्षेत्रसँग समन्वय गर्दै अघि बढिरहेको छ भन्दै उनले निजी क्षेत्रको लगानी सुरक्षित हुनेगरी सहज नीति बनाउन स्थानीय निकायलाई आग्रह गरिन् । निर्माणाधीन भ्यूटावर र शिव मन्दिरका साथै जामुनेबोटमा स्थापना गरिएको शहीदपार्क पर्यटक भुलाउने अर्को एउटा स्थलका रुपमा रहेको मन्त्री थापाको भनाइ थियो ।

