एप्पल स्मार्टवाचको सक्रिय प्रयोगकर्ता पुगे १० करोड


काठमाडौं – सन् २०२१ को दोस्रो त्रैमासमा स्मार्टवाचको व्यवसाय उल्लेख्य बढेको छ । काउन्टरप्वाइन्ट रिसर्चले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार बजेट स्मार्टवाचको माग अत्याधिक बढ्दा गत वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले वृद्धि भएको हो ।

बजारमा एक सय डलरभन्दा कम मूल्यका स्मार्टवाचको बजार बढ्दो छ । प्रतिवेदनअनुसार यो अवधिमा सय डलरमुनीका स्मार्टवाचको व्यवसाय ५४७ प्रतिशतले बढेको छ ।

समग्रमा स्मार्टवाचको बजारमा एप्पलकै दबदबा छ । सन् २०२१ को दोस्रो त्रैमासमा एप्पल वाचको बजार हिस्सा २८ प्रतिशत छ । गत वर्षको सोही अवधिको तुलनामा भने एप्पलको बजार हिस्सा २.१ प्रतिशतले घटेको हो ।

काउन्टरप्वाइन्टका विश्लेषकका अनुसार भारतीय र चिनियाँ ब्राण्डले बजारमा बजेट स्मार्टवाच ल्याउँदा एप्पल वाचको बजार खुम्चिएको हो। यद्यपि बजार हिस्सा घटेपनि एप्पल वाचका सक्रिय प्रयोगकर्ता लगातार बढिरहेका छन् । गत जुन महिनासम्म एप्पल वाचका १० करोड सक्रिय प्रयोगकर्ता पुगेका हुन् ।

अर्कोतर्फ चिनियाँ ब्राण्ड ह्वावेको यो सूचीमा दोस्रो स्थानमा छ । अमेरिकी प्रतिबन्धका बाबजुज ह्वावेले आफूलाई ९.३ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा राख्न सफल भएको हो ।

त्यसैगरी सन् २०२१ को दोस्रो त्रैमासमा तेस्रो ठूलो स्मार्टवाच भेन्डरको रुपमा सामसङ छ । सामसङले गत वर्षको सोही अवधिभन्दा ४३ प्रतिशतले सुधार गर्दै विश्व बजारमा ७.३ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।

ग्यालेक्सी वाच थ्री र ग्यालेक्सी वाच एक्टिभ टु को लोकप्रियताका कारण सामसङकाे व्यवसायमा सुधार भएको हो ।
यो अवधिमा एप्पल वाच सिरिज सिक्स, एप्पल वाच सिरिज एस ई र सामसङ ग्यालेक्सी वाच एक्टभि टु क्रमश धेरै बिक्री हुने स्मार्टवाच बनेका छन् ।

प्रतिक्रिया