प्रहरी नै उद्धारको प्रतिक्षामा, जिल्ला प्रहरी कार्यालय ६ फिट डुब्यो (भिडिओसहित)


नवलपरासी – दुईदिनदेखि आएको बाढीका कारण  प्राकृतिक विपत्तिको उद्धारमा खटिने सुरक्षाकर्मी नै विपत्तिमा परेका छन् । अविरलको वर्षापछि पश्चिम नवलपरासीको सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नै डुबानमा परेको छ ।

सर्वसाधारणको उद्धारमा खटिने प्रहरीनै उद्धारको प्रतिक्षा गर्दै बस्न बाध्य भएका छन् ।

डुबानबाट जिल्ला प्रहरी कार्यालय, नेपाली सेनाको कालीध्वज गणलगायतका सरकारी कार्यालयका साथै परासी बजार नै डुबानमा परेको छ ।

लगातारको वर्षापछि डुबेको जिल्ला प्रहरी कार्यालयमा ६ फिटभन्दा बढी पानी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका कर्मचारी, थुनवाहरुलाई पनि उद्धार गर्दै स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

प्रहरीको उद्धारका लागि आएको नेपाली सेनाको सवारीसाधन पनि जिल्ला प्रहरी कार्यालय परिसरमै फसेको छ ।

बाढीले जंगली जनावरहरु बगाएर जिल्ला प्रहरी परिसरभित्र ल्याएको जनाइएको छ । बाढीले बँदेल, सुँगुर, गाई, बाख्रालगायतका जीवजनावर पनि बगाएर ल्याएको जनाइएको छ । अहिले बाढीबाट परासी बजार, घरहरूको तल्लो तला डुबेको छ । बाढीका कारण मानिसहरूले साबधानी अपनाए पनि जनावरहरूको भने विचल्ली भएको छ । बाढीबाट कैयाैं जनावरहरू बगेको भए पनि तथ्यांक यकिन भने हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालयलगायतका सरकारी कार्यालयहरु डुबानमा परेका छन् ।

यसैबीच बाढीबाट परासी बजारका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने १ जना बालिका बेपत्ता भएकी छिन् ।

प्रहरीका अनुसार बाढीबाट पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका—१८ बञ्जरियाका बाबुछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षीय विनोद प्यासी र उनका छोरा १३ वर्षीय प्रदीप रहेका जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

त्यस्तै बाढीबाट कारण सुनवल नगरपालिका–१४ की एलिसा तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ । पानीको सतह घट्ने क्रममा नरहेकोले निजको खोजीमा असहजता उत्पन्न भएको सुनवल प्रहरीले जनाएको छ ।

बाढीबाट देवदहस्थित पूर्वपश्चिम राजमार्गको पक्की पुल भासिएपछि यातायात अवरुद्ध रहेका छन् ।

भिडिओः

प्रतिक्रिया