

१९ वर्ष कैद तोकिएका फरार पौडेल स्याङ्जा प्रहरीको फन्दामा!

काठमाडौं – स्याङ्जा प्रहरीले कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएका ७५ वर्षीय यमप्रसाद पौडेल पक्राउ परेका हुन्।
बुधवार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पौडेललाई कास्कीको पोखराबाट पक्राउ गरेको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए।
कार्तिक २०५४ मा जिल्ला अदालत स्याङजाले पौडेललाई कैद सजाय हुने फैसला गरेको थियो। फैसलापछि उनी लुकिछिपी बसेका थिए।
पक्राउ परेका पौडेललाई जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले उनलाई कारागार चलान गरिएको एसपी बोगटीले अनलाइनन्युज७लाई बताए।

