

चार कमान्डको नेपाली सेना नेतृत्वमा भोलीदेखि युद्धकला ज्ञाता प्रभुराम शर्मा, सम्पत्ति कति छ?

काठमाडौं– यसै बर्षदेखि ४ कमान्डमा पुगेको नेपाली सेनाको प्रधानसेनापति पक्का भएका प्रभुराम शर्मालाई सरकारको सिफारिसमा कायममुकायमको जिम्मेवारीमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरिसकेकी छन्।
२५ साउन अर्थात् भोलीदेखि औपचारिक रुपमा उनले सेनाको कमान्ड सम्हाल्नेछन्। सैनिक परम्पराअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा तीन बर्षे कार्यकालको अन्तिम महिना विदामा बस्नेछन्। २४ भदौदेखि भने शर्मा औपचारिक रुपमा प्रधानसेनापतिमा नियुक्त हुनेछन् र सेनाको ४४ औं प्रमुख हुनेछन्।
आफ्नो कार्यकालको हजार दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका जति अर्का प्रमुखले गर्ने बताएका थिए।
नेपाली सेनामा पहिला नै उत्तराधिकारी लगभग तय हुन्छन्।
हाल उपरथी रहेका शर्मा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीका स्थायी बासिन्दा हुन्। सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्। शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्।
शर्माले सैनिक मान्डको जिम्मा लिनुअघि नै सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्।
शर्माको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीमा आमा सुभद्रा पौडेलको नाममा ६ आना क्षेत्रफलमा साढे २ तले घर रहेको छ। आमा सुभद्रा पौडेल कै नाममा शर्माको नागार्जुन नगरपालिका वडा नं ४ मा ८.५ र वडा नं ६ मा चार रोपनी जग्गा रहेको छ। शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगरपालिका १५ मा आठ आना जग्गा रहेको छ, जुन त्यो समयमा २० लाख रुपैयाँमा खरिद गरिएको हो।
शर्मासँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको नेपाली सेनाको अभिलेखमा उल्लेख छ। शर्मासँग राष्ट्रिय बाणिज्य बैंक, विशालबजारमा १९ लाख र नबिल बैंक बानेश्वरमा ४७ हजार अमेरिकी डलर रहेको उल्लेख छ । हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन्।
नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन्। शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ।
सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन्।

