

ओली शैलीमा उत्रिएको प्रधानमन्त्री देउवा सचिवालयलाई विश्वप्रकाश र पूर्णबहादुरको दनक

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रशंशामा बनाइएको एउटा भिडिओमाथि प्रवक्ता विश्वप्रकाश शर्मा र महामन्त्री पूर्णबहादुर खड्काले कटाक्ष गरेका छन्।
प्रधानमन्त्री देउवाको सचिवालयमाथि टिप्पणी गर्दै प्रवक्ता शर्माले काम गर्नुअघि नै प्रशंशासहितको भिडिओ सस्तो लोकप्रियता जस्तो भएको भावमा प्रतिक्रिया जनाएका छन्।
उनी लेख्छन्,‘प्रधानमन्त्रीको काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैंले बनाउनेछन् भिडिओ, नत्र पार्टीले बनाउला।’
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैलीमा नै देउवा सचिवालयले ‘मलाई शेरबहादुर देउवा मनपर्छ, किनभने’ शीर्षकमा भिडिओ सार्वजनिक गरेपछि आएको प्रतिक्रियामा प्रवक्ता शर्मा अगाडि लेख्छन्,‘पहिला फूल रोपौं, गोडमेल राम्रो गरौं। सुवास प्रकृतिले पछि फैंलाउँछ। प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छु।’
व्यक्तिलाई देवत्वकरण गर्ने ओलीको सचिवालयको कर्म जस्तै देउवा सचिवालयले पनि सोही शैली पछ्याएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
यहि क्रममा देउवानिकट रहेका तथा सरकारलाई सुझाव दिन गठित कार्यदलका संयोजक कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि कटाक्ष गरेका छन्।
उनी लेख्छन्,‘जीवनको हरेक क्षण देश, जनता र लोकतन्त्रका लागि समर्पण गरी जनताका बीचमा स्थापित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा सामाजिक सञ्जालमार्फत सुरु गरिएको भिडिओ गाइजात्रा तुरुन्त बन्द गर्न सचिवालयलाई विशेष अनुरोध गर्दछु।’

