एसईई नतिजा: विद्यार्थीलाई ‘A’ र ‘A+’ नम्बर दिनेको होडवाजी, २४ विद्यालय छानबिनको घेरामा


काठमाडौं – मुलुकका केही विद्यालयहरुले कोरोना माहामारीको फाईदा लिएका छन् । कोरोनाको समयमा विद्यालयको पठनपाठन, परिक्षा लिने र नतिजा प्रकासनमा परिवर्तन भएको समयमा देशभरका २४ विद्यालयले आफ्ना विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको तथ्य फेला परेपछि एसईईको नतिजा आउन ढिलाइ हुने भएको छ ।

बोर्डले यो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो । तर, अधिकांश विद्यार्थीको अस्वाभाविक नम्बर आएपछि परीक्षाफल प्रकाशित गर्न ढिलाइ हुने भएको बोर्डका एक अधिकारीले बताए । प्रयोगात्मक विषय समावेश नगरीकनै पनि अधिकांश विद्यार्थीले ‘ए’ र ‘ए प्लस’ ल्याएपछि बोर्डको बिहीबार बसेको बैठकमा गम्भीर छलफल भएको थियो ।

स्रोतका अनुसार विशेष गरी उपत्यकाका तीनै जिल्लाका विद्यालयले आफ्ना अधिकांश विद्यार्थीलाई ‘ए’ र ‘ए प्लस’ नम्बर दिएको भेटिएको थियो भने तराईका ८ जिल्लाका विद्यालयले पनि आफ्ना विद्यार्थीलाई मनोमानी अंक दिएको भेटिएको थियो ।

केही दिनभित्रै परीक्षाफल प्रकाशित गर्ने तालिकासहित बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २४ विद्यालयको यस्तो अवस्था देखेपछि तत्काल छानबिन गर्ने निर्णय गरेको छ । परीक्षाफल ढिलो प्रकाशित भए पनि केही फरक पर्दैन भन्दै बैठकमा बोर्ड सदस्यहरूले यस विषयमा तत्काल छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षका परीक्षाका लागि तयार गरेको कार्यविधिमा ८० अंकभन्दा माथि दिनुपरेमा सोको कारण कैफियतमा खुलाउनुपर्ने नयाँ व्यवस्था गरेको थियो । तर, सो व्यवस्थाको उल्लंघन गर्दै कारण नखुलाई ८० भन्दा बढी नम्बर दिएको पाइएको छ ।

कार्यविधिविपरीत मनोमानी ढंगबाट आफ्ना विद्यार्थीको परीक्षाफलमा बढी अंक प्रविष्ट गरेपछि बोर्डले तत्काल परीक्षाफल प्रकाशित नगर्ने जनाएको हो । बोर्डको आन्तरिक बैठकका बारेमा जानकारी गराउँदै एक अधिकारीले ‘झन्डै ७२ हजार विद्यार्थीको सबै विषयमा ‘ए’ र ‘ए प्लस’ आएको भेटिएको र काठमाडौँका करिब १ हजार २ सय विद्यार्थीले ‘ए प्लस’ ल्याएको देखियो बताए ।

बोर्डले जिल्ला शिक्षा समन्वय इकाइलाई बढी नम्बर दिएका कारण खोजी गर्न एक साता समय दिने भएको छ । यसअघि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले सबै विवरण तयार गरी बढीमा ४ दिनभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको थियो ।

प्रतिक्रिया