श्रृंखलाबद्ध आपराधिक योजनासहित काठमाडौं छिरेका थिए तीन युवा

प्रहरीको चलाखीले टर्यो एउटा ठूलो आपराधिक घटना!


काठमाडौं – बुधबार साँझ महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले गोगंबु नयाँबसपार्कबाट अत्याधुनिक पेस्तोल र धारिलो हतियार भेटेपछि काठमाडौं उपत्यकामा हलचल भएको छ। काठमाडौं प्रहरीका अनुसार पेस्तोलमा लाग्ने एकथान म्यागेजिन र पाँच वटा गोली पनि बरामद भएको छ।

मान्छेहरुको चहलपहल बढ्दो ठाउँ नयाँबसपार्कबाट अत्याधुनिक पेस्तोल र धारिलो हतियार खुकुरीसहित तीनजना मान्छे पक्राउ परेपछि काठमाडौं उपत्यकामा हुनसक्ने एउटा ठूलो दुर्घटना टरेको प्रहरी बताउँछ।

सुरक्षाकर्मीको विशेष टोलीले मात्रै प्रयोग गर्न पाउने अत्याधुनिक हतियार पेस्तोल, गोली एवं म्यागजिनसहित एउटै जिल्लाका ३ युवालाई समातेपछि प्रहरीको चलाखीको कारण उपत्यकामा हुनसक्ने ठूलो अपराध टरेको हो।

पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दीप थापा, १९ वर्षीय सुजन मगर छन्। प्रहरीका अनुसार समूहको नाइके हुन् विकेश। यसअघि पनि उनीहरु लागूऔषध कारोबारमा समेत जेल परेर निस्किएको अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्वयंमले नै दुर्घटना टरेको भन्नुले झनै विभिन्न शंका उब्जनु स्वभाविक पनि हो। त्यसो भए उनीहरुले कहाँ लुटपाटको योजना बनाउँदै थिए या कसैको हत्या योजना पो बनाइराखेका थिए? यतिबेला प्रश्न प्रहरीमाथि सोझिएको छ।

हतियारसहित मान्छे पक्राउ पर्नुले काठमाडौं उपत्यकामा गैरकानुनी एवं संगठित रूपमा अत्याधुनिक तथा स्वचालित हतियारको प्रयोग गर्दै लुटपाट तथा आतंक मच्चाउने गिरोह सक्रिय हुन थालेको पुष्टि हुन्छ।

तीनजनाको समूह लुटेरा समूह रहेको पाइएको छ। उनीहरु तीन दिनअघि धादिङबाट काठमाडौंमा ठूलो अपराध घटाउन काठमाडौं आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी स्रोतका अनुसार उनीहरुले राजधानीकै एक व्यापारीको घरमा लुटपाट गर्ने योजना बनाएका थिए ।

यद्यपि, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सुरक्षा कारण देखाउँदै यो समूहले कसलाई टार्गेट गरेको थियो भन्ने खुलाउन चाहेनन्।

‘१/२ दिनदेखि योजनाबद्ध रुपमा कसलाई के गर्ने भनेर काठमाडौं आएर बसेको देखिन्छ,’ एसएसपी सिंहले भने, ‘उपत्यकाको एकठाउँ मात्र नभएर धेरै ठाउँमा उनीहरुले योजना बनाएको खुलेको छ।’

उनीहरुले कहाँ लुटपाट गर्न खोजेको या कसैको हत्या गर्न खोजेको कुरा अनुसन्धानकै क्रममा रहेकाले भन्न नमिल्ने एसएसपी सिंहले बताए। उनीहरु बिजी मल पछाडि वीरेन्द्र ऐश्वर्यस्थित आरके रेष्ुटरेन्टमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन्।

महाराजगञ्ज वृत्तका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार उनीहरुको साथबाट एकथान पेस्तोल, ५ राउण्ड गोली, २ थान खुकुरी, गाँजा, पेस्तोलमा प्रयोग हुने म्यागजिन समेत बरामद भएको छ। बरामद हतियारहरुबारे थप अनुसन्धान भइरहेको उनले बताए।

‘काठमाडौंमा योजना नै बनाएर उनीहरु आएको देखिन्छ,’ बिष्टले भने, ‘मंगलबार बिहान खबर आउनासाथ हाम्रो टिम चनाखो भएर अनुसन्धानमा जुट्यो। अन्ततः साँढे ६ बजेको समयमा उनीहरुलाई पक्रन सफल भएको हो।’

सूचना पाउनासाथ हामीले चोक–चोकमा चेकिङ गरिराखेको बिष्टले बताए। ‘चेकिङकै क्रममा एकजना व्यक्तिले स्कुटी छाडेर बिजी मलको पछाडि एउटा रेष्टुरेन्टमा छिरेको देखेपछि हामीले पछ्यायौं। त्यसपछि रेष्टुरेन्टमा लुकेर बसेको अवस्थामा तीन जनालाई पक्राउ गरेका हौं,’ उनले भने।

हाम्रो सूचनाअनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरु तिनै तीनजना रहेको बिष्टले बताए।

उक्त स्कुटर समेत प्रहरीको नियन्त्रणमा रहेको र कसको नाममा छ भन्नेबारे अहिले केही नखुलेको प्रहरीको दावी छ। एक महिनाअघि पनि उनीहरु सोही रेष्टुरेन्टमा आएर लुटपाटको योजजना बनाएपनि सफल नभएको पाइएको छ।

चिनजानकै रेष्टुरेन्ट भएको कारण एकमहिना अघि पनि उनीहरु सोही रेष्टुरेन्टमा आएर लुटपाटको योजना बनाए पनि सफल नभएको पाइएको बिष्टले बताए। उनीहरु पक्राउ परेसँगै राधानीमा हुनसक्ने एक ठूलो दुर्घटना हालललाई टरेको प्रहरीको दावी छ।

बरामद हतियारहरु उनीहरुले कहाँबाट ल्याए त? मुख्य प्रश्न यहाँ छ। यस विषयमा थप अनसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बयानको क्रममा उनीहरुले उक्त पेस्तोल भारतबाट किनेर ल्याएको बताएका छन्।

लुटपाटको मास्टरमाइन्ड उनीहरुको समूहले पेस्ताले नै बोकेर हिँडेपपछि कुनै न कुनै मानिसको हत्या गर्ने योजना पनि हुनसक्ने सुरक्षाविज्ञहरु बताउँछन्। प्रहरी अधिकारीहरुकाअनुसार यो अपराधको व्यावसायीकरण र व्यापारीकरणको गम्भीर रुप हो।

या कसैसँग सुपारी लिएर उनीहरुले कसैको हत्या पो गर्न खोजिरहेका थिए। यसरी पेस्तोल र धारिलो हतियार खुकरी बरामद भएसँगै प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरु पेशेवर अपराधी हुन् या होइनन् केही खुलेको छैन।

उनीहरु कुनै गुण्डा समूहनिकट या कुनै आपराधिक समूहसँग निकट रहेर काम गरेको हुनसक्ने प्रहरीको दाबी छ। यद्यपी उनीहरुले अहिलेसम्म कसैको नाम पनि बयानको क्रममा लिएका छैनन्।

प्रतिक्रिया