

सिआईबीद्वारा मेडिकल काउन्सिलको स्वीकृति नलिएका चारजना चिकित्सक पक्राउ

काठमाडौं – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल मेडिकल काउन्सिल (एनएमसी) बाट स्वीकृती नलिई चिकित्सासम्बन्धी कार्यहरु गरेको फेला पारेपछि चार जनालाई पक्राउ गरेको छ।
शनिबार चाबहिलको ओमकार डेन्टल होम प्रा.लि.का सञ्चालक राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक डा. रन्जनकुमार ठाकुर, डा. सौरभ कुमार र कर्मचारी सन्जु साहलाई सिआईबीले पक्राउ गरेको हो।
एनएमसीमा दर्ता नै नगरी ओमकारले चिकित्सासम्बन्धी कार्यहरु गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको सिआईबीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरजप्रताप सिंहले बताए।
उनीहरुलाई मेडिकल काउन्सिलले उजुरी गरेको आधारमा पक्राउ गरिएको सिंहले बताए। सुरुमा काउन्सिलमा एक भारतीयले स्वीकृति नै नलिइ डेन्टल क्लिनिकमा अभ्यास गरेको भन्दै उजुरी परेको थियो।
मेडिकल काउन्सिलको ऐनमा दर्ता विना अभ्यास गर्नेलाई ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।
यसअघि पनि प्रहरीले नक्कली प्रमाणपत्र पेश गरी अस्पतालमा कार्यरत चिकित्सकलाई पक्राउ गरेको थियो।

