
अब्बल एआईजी हरि पाल
काठमाडौं – १९ वैशाख २०४९ सालमा शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की सँगै नेपाल प्रहरीमा प्रवेश गरेका थिए। प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका उनीहरुको सेवाअवधि अब करिब ९ महिना मात्र बाँकी छ।
इन्स्पेक्टरमा सँगै आएका उनीहरु चारै जनाको अपेक्षा प्रहरी नेतृत्वमा पुग्छु भन्ने नै थियो। समयाक्रमअनुसार उनीहरु अघिपछि हुँदै प्रहरी नायब महानिरीक्षक (डिआईजी)सम्म सँगै बढुवा भए। त्यतिन्जेलसम्म चारै जना प्रहरी नेतृत्वको दाबेदार थिए।
तर, १५ फागुन २०७६ मा सरकारले थापा र पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गर्यो। त्यसपछि थापा र पाल मध्ये एकजना प्रहरी नेतृत्वमा पुग्ने बाटो खुल्यो। यता शाही र कार्की एआईजीसम्म हुने निश्चित थियो।
विगतका दिनमा प्रहरीको नेतृत्व सम्हाल्न एक अर्काविरुद्धमा दोषारोपण हुने गरेको थियो। आफ्नो–आफ्नो गुटको मिडियालाई जथाभावी प्रचारबाजी समेत गर्न लगाइन्थ्यो। तर, थापा र पालको कार्यकालमा त्यस्तो भएन, उल्टो उनीहरुबीच एक खालको भद्र सहमतिको वातावरण बन्यो।
ठाकुरप्रसाद ज्ञवाली सेवा निवृत्त हुन एक साता बाँकी रहँदा आईजीका दाबेदार थापा र पाल एउटै गाडीमा सँगसँगै कार्यक्रममा देखिए। त्यसले प्रहरी संगठनमा पछिल्लो पुस्ताहरुलाई उत्साह, हौसला र प्रेरणा थपेको सजिलै बुझ्न सकिन्थ्यो।
विगतमा आईजी बनाउन प्रहरी संगठनभित्र नै पक्ष–विपक्षमा खुलेर लागेका अस्वस्थ खेल उनीहरुको कार्यकालमा त्यस्तो देखिएन। उनीहरुमध्ये जो कोही आईजी भए पनि एकले अर्कालाई सघाउने प्रतिबद्धता जनाए।
२३ असार २०७७ मा सरकारले एआईजी बरियतामा पहिलो नम्बरमा रहेका थापालाई नै आईजीमा नियुक्त गर्यो। थापा प्रहरीभित्र व्यवसायिक र इमान्दार अधिकृतका रुपमा चिनिन्छन्। अहिले पनि थापा नै प्रहरी संगठनको प्रमुख छन्।
सरकारले ब्याचीलाई संगठन प्रमुख बनाउने निर्णय गरेपछि पालले त्यतिबेला आफूले नवनियुक्त आईजीलाई पूर्ण सहयोग गर्ने र नेतृत्वमा पुगेपछि थापाले सहयोग लिन सक्नुपर्ने बताएका थिए। त्यस्तै पाल, शाही र कार्की एआईजी छन्।
कार्यकौशलताको आधारमा सरकारले सही मूल्यांकन गरेर संगठनको नेतृत्व सुम्पिएको खण्डमा जस्तो सुकै चुनौतिलाई पनि पार लगाई प्रहरी संगठनलाई सफल नेतृत्व प्रदान गर्न क्षमता एआईजी पालमा रहेको प्रष्ट देखिन्छ।
बुधबार प्रहरी प्रधान कार्यालयले गत वर्षको साउनमा भएको प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन सम्झौताको नतिजा सार्वजनिक गरेको छ।
प्रहरी मुख्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरी महानिरीक्षकदेखि एआईजी र डिआईजीसम्मका अधिकारीहरुको एक वर्षे कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरिएको हो।
सार्वजनिक गरिएको कार्यसम्पादन मूल्याकंनमा एआईजी पाल अब्बल देखिएका छन्। एआईजीहरुमा पाल अगाडि छन्। एक्सनमा दरिला रहेका पालले कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट नम्बर ल्याएर आफूलाई अब्बल प्रहरी अधिकृत रहेको साबित गरेका छन्।
त्यसैले आईजी नियुक्त गर्ने बेला थापा भन्दा पाल उत्कृष्ट प्रहरी अधिकृत रहेको भन्दै सामाजिक सञ्जालदेखि मिडिया तातेको थियो। तर, तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले पाल २ नम्बरमा रहेका कारण त्यसबेला एक नम्बरमा रहेका थापालाई आईजी बनायो।
कार्यसम्पादन मूल्याकंनमा पालले उत्कृष्ट नम्बर ल्याएर आफूलाई अब्बल प्रहरी घोषित गरेका छन्। हाल पालले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको जिम्मेवारी सम्हालेका छन्। उनको नेतृत्वमा महानगरीय प्रहरी कार्यालयले ९५.८९ प्रतिशत ल्याएको हो। एआईजीहरुमा पाल उत्कृष्ट भएका हुन्।
त्यस्तै गृहसचिव महेश्वर न्यौपानेसँग प्रहरी महानिरीक्षक थापाले गरेको सम्झौताअनुसारको कार्यसम्पादनमा उनले ९०.५ प्रतिशत ल्याएका छन्। उनले एक सय पूर्णाङकमा ९०.५ नम्बर मात्र ल्याएका हुन्।
त्यस्तै मानव स्रोत तथा प्रशासन विभागका एआइजी निरज बहादुर शाहीले ६७.११, कार्य तथा अपराध अनुसन्धानका विश्वराज पोखरेलले ६६.५२, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी प्रद्युम्न कार्कीले ६६.७९ तथा प्रहरी अस्पतालकी डा.आशा सिंहले ७९.१७ नम्बर ल्याएकी छिन्।
सात प्रदेशमध्ये बाग्मती प्रदेशका डिआईजी उत्कृष्ट भएका छन्। बागमती प्रदेशका तत्कालिन डिआईजी वसन्त लामाले ९७.०३ नम्बर ल्याएका हुन्। हालै उनको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।
त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेश, तेस्रोमा गण्डकी, चौथोमा प्रदेश नम्बर १, पाँचौमा प्रदेश नम्बर २, छैठौंमा सुदुरपश्चिम तथा सातौंमा कर्णाली प्रदेशका डिआईजी भएका छन्। लुम्बिनीले ९६.५६, गण्डकीले ९६.०३, प्रदेश नम्बर १ ले ९५.९०, प्रदेश नम्बर २ ले ९५.७४, सुदुरपश्चिम प्रदेशले ९५.२१ र कर्णाली प्रदेशले ९४.९६ नम्बर ल्याएको छ।
दोस्रो हुने लुम्बिनीमा डिआइजी रवीन्द्र धानकु, तेस्रो हुने गण्डकीमा घनश्याम अर्याल, चौथो हुने प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, पाँचौ हुने प्रदेश नम्बर २ मा धीरजप्रताप सिंह, छैठौं हुने सुदुरपश्चिममा उत्तम सुवेदी तथा सातौं हुने कर्णालीमा बसन्त पन्त थिए।
एआईजी तथा डिआईजीसँग गत साउनमा प्रहरी आईजी थापाले कार्यसम्पादन सम्झौता गरेका थिए।
अपेक्षा धेरै, परिणाम शून्य
मिजासिला स्वभावमा पाल ‘एक्सन’मा दरिला रहेको थाहा हुँदाहुँदै पनि सरकारले थापालाई आईजी नियुक्त गरेको थियो। थापाले कमाण्ड सम्हालेको एक वर्ष बढी भइसकेको छ। एक वर्षे कार्यकालमा आईजी थापाले सोचेअनुरुप काम गर्न नसकेको प्रहरी वृत्तभित्रै चर्चा हुने गरेको छ।
आईजीमा नियुक्त भएपछि थापाले उच्च व्यवसायीताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका थिए। काँधमा नयाँ फुलीसँगै आईजीपी क्षेत्रीका अगाडि छवि बाचय राख्ने, विवादबाट जोगिने र संघीय ढाँचाअनुसार संगठनलाई चलाउने चुनौति थियो।
सरुवा–बढुवामा देखिएको भनसुन र चाकरी प्रथाका कारण प्रहरीको व्यवसायिक चरित्रमाथि नै प्रश्न उठ्ने गरेको छ। संघ र प्रदेशमा प्रहरी कर्मचारी समायोजन गर्दा बढ्न सक्ने असन्तुष्टि र त्यसपछि सम्भावित राजीनामाको लहर रोक्ने चुनौति आईजी थापासामु थियो।
तर, थापा यस्ता कुराहरुमा चुकेका छन्। बरु आईजी थापाले पनि आफूनिकट प्रहरी अधिकारीलाई आकर्षक मानिएका ठाउँमा सरुवाको अवसर दिँदै आएको गुनासो सुनिन्छन्। आईजीको मान्छे भन्दै कतिपय प्रहरी कर्मचारीले संगठनको बदनाम गर्दा पनि उनी मौन बस्ने गरेको आरोप लागेको छ।
इमान्दार स्वभावका आईजी थापासँग संगठनका कर्मचारीहरुले धेरै ठूलो अपेक्षा राखेका थिए। तर, आईजी थापाले आफ्नो कार्यकालमा जति गर्नुपर्ने थियो, त्यति गर्न नसकेको धेरै प्रहरी अधिकारीहरुको गुनासो रहेको छ।



सुजन पन्त |
