

माधव नेपाललाई सहयोग गर्ने सांसदका मन्त्री बन्ने सपनामा धक्का, को–को थिए तयार?

काठमाडौं– एमाले विवाद समाधानको अन्तिम रुप पाउने भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई समर्थन गरेका माधवकुमार नेपाल पक्षका २२ सांसद मध्येका कतिपयको मन्त्री बन्ने सपनामा धक्का लागेको छ।
दोस्रो पुस्ताका नेता एमाले एकताका लागि सक्रिय भएपछि नेपाललाई तेस्रो पुस्ता र केही अवसरवादी सांसदले सहयोग गरेका थिए। एमाले एकता भएको खण्डमा उग्र रुपमा प्रस्तुत भएका कतिपयको राजनीतिक करिअर नै धरापमा पर्न सक्ने अनुमान गरिएको छ।
‘सरकारमा जाने कुनै सल्लाह भएको छैन। हामी सरकारमा पनि जाँदैनौं’, नेपालनिकट नेता बेदुराम भुसालले भनेका छन्,‘हामीलाई संसद जोगाउने चटारो थियो, जोगायौं। अब पार्टी मिलाउँछौं।’
कतिपय ओली पक्षका सांसद मन्त्री बन्ने आकांक्षासहित नेपाल समूहमा सहयोगी बन्न पुगेका थिए। खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहयोग गरेका किसान श्रेष्ठ, प्रेम आलेलगायतका सांसद मन्त्री पदको आकांक्षाका कारण नै नेपाल समूहमा लागेका थिए।
सत्ता गठबन्धनमा रहेका अन्य दलले नेपाल समूहलाई सरकारमा आउनका लागि पहल गरिरहे पनि नजाने निर्णय भइसकेको छ। यसैकारण पनि अन्य दलले मन्त्रीका लागि भागवन्डा टुङ्ग्याइसकेका छन्।
सत्ता साझेदारी हुँदा नेता नेपालले विरोध खतिवडा, सोमप्रसाद पाण्डे, बेदुराम भुसाल, रामकुमारी झाँक्री, कल्याणी खड्कालगायतलाई मन्त्रीमा पठाउने तयारी गरेका थिए। केही ओली समूहबाट आएका पनि मन्त्री बन्ने इच्छामा रहेको स्रोतले जनाएको छ।
तर आफूपक्षीय सांसदको बैठक राखी पार्टी एकता हुने सन्दर्भमा सरकारमा सहभागी नहुने नेता नेपालले स्पष्ट बताएको भुसालले जानकारी दिएका थिए।

