नेकपा विवादको एउटा कारण चौरसिया हत्याः पक्राउ गरिएका मुख्य अभियुक्त को हुन्?


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय तहको विवादको एउटा कारण थिए पर्सा विन्दबासिनी गाउँपालिकामा हत्या गरिएका कार्यकर्ता मुकेश चौरसिया।

स्थानीय नेता चौरसियाको हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको भनी नेकपा नेता मात्रीका यादवलगायतले लिखित विज्ञप्ति मात्र जारी गरेनन्, केन्द्रीय तहमा यसलाई अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको मतभेदको एउटा कारण बताइयो।

पर्सा प्रहरीले चौरासियाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ गरी कानुनी प्रक्रिया थालिएको जनाएको छ।

विन्दवासिनी गाउँपालिका–३, इटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई नियन्त्रणमा लिइएको हो। 

उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साको टोलीले वीरगञ्ज–२५, अली सिर्सियाबाट पक्राउ गरिएको थियो। नेकपाकै कार्यकर्ता रहेका उनी पूर्वएमालेतिर झुकाव राख्ने व्यक्ति रहेको बताइन्छ।

यसअघि ६ कात्तिकमा प्रसौनीमा सेलर मिलको भवनमा विन्दवासिनी गाउँपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा नेकपा कार्यकर्ताबीच भएको झडपमा मुकेश गम्भिर घाइते भएका थिए। लाठी भाटालगायतको प्रयोगमा दुई पक्षीय झडप भएको थियो।

उपचारका क्रममा मुकेशको न्युरो अस्पतालमा उनको मृत्यु भएको थियो ।

यो प्रकरणमा अध्यक्ष प्रचण्डसम्मले विज्ञप्ति जारी गर्नुपरेको थियो। उनले ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको’ भनी विज्ञप्ति जारी गरेका थिए।

यहि प्रकरणमा पर्सा प्रहरी प्रमुख गंगा पन्तको पनि नेकपाका कतिपय नेता कार्यकर्ताले आलोचना गरेका थिए। 

प्रतिक्रिया