

संगठनभित्र केही कमजोरी छन्, त्यसलाई सुधार गर्दै लैजान्छौंः प्रहरी प्रवक्ता

काठमाडौं – नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले प्रहरी संगठनभित्र केही कमजोरी भएको र यसलाई सुधार गर्दै लगिने प्रतिबद्धता जनाए।
बुधबार नेपाल प्रहरीले आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै एसएसपी कुँवरले प्रहरीको गलत क्रियाकलाप विरुद्धमा आलोचनात्मक सुझावहरुको मनन गरेको बताए।
नेपाल प्रहरीबाट केही काम गलत भएको स्वीकार्दै एसएसपी कुँवरले भने, ‘हाम्रा कामहरुमा भएका केही गलत किसिमका कार्यहरु भएका छन्। त्यस सन्दर्भमा भएका सूचनाहरु वा कुनै क्षेत्रहरु जुन हामीले गर्नुपर्ने थियो तर संगठनले ध्यान पुर्याउन नसकिरहेको अवस्था छ।
त्यस्ता क्रियाकलापहरुमा प्राप्त हुने पृष्ठपोषण हामीले सधै प्राप्त होस् भनेर लागिरहेका छौँ। त्यसको प्रतिक्षामा छौँ। यहाँहरुबाट प्राप्त हुने सबै आलोचनात्मक समेतका सुझावहरु हामी स्वागत गर्छौं। संगठनले त्यस्ता समस्या, गुनासा, क्रियाकलापहरु छन् भने त्यसलाई सुधार्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु।’
प्रवक्ता कुँवरले प्रहरीले आव ०७६/७७ मा विभिन्न दर्जाका ४ हजार ९५१ जनालाई पुरस्कार र १ हजार ९७४ जनालाई विभिन्न किसिमको कारबाही गरिएको जानकारी दिए।
त्यस्तै, आव ०७७/७८ मा विभिन्न दर्जाका ४ हजार ४३० जनालाई पुरस्कार र १ हजार ९८२ जनालाई कारबाही गरिएको कुँवरले बताए। उनका अनुसार नेपाल प्रहरीले अपराध अभिलेखको व्यवस्थापनतर्फ राष्ट्रिय अपराध सूचना केन्द्रको सफ्टवेयर निर्माण सम्पन्न भएको छ।

