

बनेपाबाट ११ जुवाडे पक्राउ, सात लाख बरामद

काठमाडौं – काभ्रेको बनेपाबाट ११ जना जुवाडे नगदसहित पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुको साथबाट सात लाख १५ हजार ३५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चन तामाङको घरमा जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता हरि खतिवडाले बताए।
पक्राउ पर्नेमा काभ्रे बनेपाका कृष्ण केसी, खड्गसिंह लामा, सुमन अधिकारी, गणेश थापा, अनिल मुस्याजु, हिरा लामा, चन्द्र लामा, थर्कमान लामा, किशोर अधिकारी, छिरिङ लामा र भक्तपुरका दीपक बस्नेत छन्।
मंगलबार अपराह्न साढे ५ बजे सादा पोसाकमा खटिएको प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो। तामाङको घरको अन्डरग्राउन्डमा उनीहरू जुवा खेलिरहेका थिए।
उनीहरूलाई जुवा ऐन अन्तर्गत हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

