

चार बर्षसँगै बसेकी महिलाले प्रहरीका असईविरुद्ध हालिन् यौन शोषणको उजुरी, छानबिन सुरु

इटहरी– एक महिलालाई यौन शोषण गरेको अभियोगमा नेपाल प्रहरीका सहायक निरिक्षक (असई) जितेन्द्रनारायण मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
सुनसरीको ट्राफिक प्रहरी पोस्ट भान्टाबारीमा कार्यरत मण्डलविरुद्ध ९ साउनमा इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी परेको थियो।
२३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इप्रका इटहरीले जनाएको छ।
इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा महिलालाई लगी मण्डलले गएको २८ चैतमा जबरजस्ती करणी गरेको आरोप उजुरीमा छ।
त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको महिलाको उजुरीमा छ। मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन्।
गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको उजुरीकर्ताको दाबी छ। मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ।
तस्बिर स्रोतः अपराधन्युज

