बाँकेका तत्कालिन एसपी ओम रानामाथि छानबिन


काठमाडौं – नेपाल प्रहरीका उपरीक्षक (एसपी) ओमबहादुर रानामाथि प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ। प्रहरीले नेपालगञ्जमा पक्राउ गरेका एक काठ तस्कर हत्कडीसहित भागेपछि एसपी रानामाथि छानबिन थालिएको हो।

एसपी राना जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन प्रहरी प्रमुख हुन्। ‘घटनालाई गम्भीर रुपमा लिँदै प्रहरी प्रधान कार्यालय मातहत रहेको उजुरी छानविन शाखाले छानबिन सुरु गरेको छ,’ छानबिन शाखाका एक अधिकृतले भने।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले उनीमाथि लागेको आरोपको बारेमा सोधपुछ भइरहेको छ। बाँकेका तत्कालिन एसपी रानासहित एक असई, एक प्रहरी हबलदार र एक सिपाहीलाई छानविनको लागि प्रहरी प्रधान कार्यालयमा तानिएको हो।

यसअघिको नियमित सरुवामा एसपी रानाको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा सरुवा भएपनि प्रहरी प्रधान कार्यालयले छानबिनको लागि भन्दै प्रधान कार्यालयमा काज सरुवा गरेको छ। उनीमाथि अनुसन्धान भइरहेको स्रोतले जनायो।

त्यस्तै बाँकेको विभिन्न ठाउँमा दरबन्दी रहेका असई, प्रहरी हबल्दार र सिपाहीलाई पनि तानेर गणमा राखिएको छ। आवश्यक परेको समयमा उनीहरुलाई अनुसन्धानको लागि झिकाउने गरेको ती अधिकृतले बताए।

एसपी रानामाथि कुनै अनुसन्धान नै नभएको ती अधिकृतले बताए। ‘एसपी सापमाथि छानबिन भएको होइन। गलत काम गर्ने तल्लो तहका केही प्रहरीहरुलाई बोलाएर सोधपुछ गरेका हौं,’ ती अधिकृतले भने, ‘अहिले उनीहरुलाई पहिलाकै दरबन्दीमा हाजिर हुन भनिएको छ।’

के थियो घटना?

गत वैशाखको तेस्रो साता जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको मोबाइल गाडीमा रहेका प्रहरीले बाँकेको हिरमिनियाबाट सालको काठसहित एक जनालाई नियन्त्रणमा लिएको थियो। अवैध ५ थान सालको काठसहित हिरमिनियाकै निसार खाँलाई मोबाइल गाडीमा रहेका प्रहरीले पक्राउ गरेका थिए।

हिरमिनियामा काठ तस्कर खाँ पक्राउ परेको खबर केहीबेरमा तत्कालिन एपी रानासम्म खबर पुग्छ। उनले तत्काल सादा पोशाकका एक प्रहरीलाई हिरमिनिया पठाउँछन्। त्यहाँ पुगेर उनले पक्राउ परेका खाँको पहिल्यै एसपी सापसँग सेटिङ भइसकेकोले काठ र खाँलाई छोड्न मोबाइल गाडीमा रहेका असईलाई अनुरोध गर्छन्।

मोबाइल गाडीमा रहेका असइले जवानको आदेश नमान्ने र आफूभन्दा उपल्लो तहबाट आदेश आउनुपर्ने बताएपछि एसपी रानाले खटाएका प्रहरी जवान र मोबाइल गाडीमा रहेका प्रहरीबीच केहीबेर विवाद हुन्छ। एसपी रानाले तस्कर छुटाउन खटाएका प्रहरी र मोबाइल गाडीमा रहेका प्रहरीको विवाद भइरहेको मौका छोपेर पक्राउ परेका खाँ हत्कडीसहित फरार हुन्छन्।

प्रहरीको नियन्त्रणमा रहेका तस्कर हत्कडीसहित भागेपछि फरार रहेका खाँलाई खोज्न ल प्रहरी कार्यालय बाँकेले आफू मातहतका सबै निकायलाई रातभर हिरमिनियामा परिचालन गरेपनि खाँ कतै भेटिँदैनन्। हत्कडीसहित फरार भएका खाँ सीमा पारी भारतीय भूमि पुगिसक्छन्।

हत्कडीसहित खाँ भारततिर पसेपछि यता बाँके प्रहरीमा हल्लीखल्ली हुन्छ। हत्कडी फिर्ता ल्याउनको लागि तस्करसँग वार्ताको लागि सादा पोशाकका एक असईको नेतृत्वमा एसपी रानाले वार्ता टोली गठन गरे। उता भने भारतबाटै खाँले फोन गरि काठ तस्करीको सेटिङका लागि लगेको १ लाख ५० हजार, प्रहरीले बरामद गरेको मोटरसाइकल र प्रयोग गर्ने गरेको मोबाइल फोन फिर्ता गर्नुपर्ने माग राखे।

आफूले राखेका माग पूरा भएपछि मात्रै हत्कडी फिर्ता गर्ने शर्त अघि सारेपछि प्रहरी उनका हरेक शर्त मान्न तयार भयो। शर्त अनुसार बाँके प्रहरीले काठ तस्करीको सेटिङका लागि बुझेको १ लाख ५० हजार नगद रकम र उनीबाट बरामद भएका सबै सामान उनको घरमा बुझाएपछि मात्रै भोलीपल्ट बेलुका ४ बजे मात्रै खाँले हतकडी फिर्ता पठाए।

एसपीले खाँलाई बचाउनुको बाध्यता!

आफ्नो कार्यालय मातहतको मोबाइल गाडीमा रहेका प्रहरीले आफैलाई १ लाख ५० हजार रकम बुझाएका काठ तस्करलाई नियन्त्रणमा लिएपछि एसपी रानालाई समस्या परेको हो। टोलीले उनीलाई मुचुल्का गरेर कार्यालय ल्याएपछि आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउनुपर्ने बाध्यता थियो।

तस्कर लाइनको लागि ठूलो रकम बुझाएका खाँले कारबाही परेको अवस्थामा एसपी रानाले सबै पोल खोलिदिन सक्थे। त्यही कुरा बुझेका एसपीले रानाले आफू निकटका घुमुवा प्रहरी जवान मनिराम महर (जो एसपी रानाले रकम असुलीको लागि परिचालन गरेका प्रहरीका नाइके थिए) को नेतृत्वमा तस्करलाई छुटाउने जिम्मा दिएर खटाए।

एसपी रानाको निर्देशन पाएका महराले खाँ छुटाउनको लागि मोबाइल गाडीमा रहेका प्रहरीलाई तल्लो स्तरको गाली गर्दै विवादमा उत्रिएका थिए। अभैmसम्म पनि अधिकांश प्रहरीहरु यो घटनाबारे औपचारिक रुपमा बोल्न डराइराखेका छन्।

प्रतिक्रिया