

भारतमा भोज खान गएका एक नेपाली युवक मृत भेटिए!

काठमाडौं – २७ असारदेखि धनुषाको शहीदनगर नगरपालिका–९ का २३ वर्षीय दिपेश रजक बेपत्ता भए। साथीसँगै भोज खान भारत गएका उनी एक्कासी सम्पर्कविहीन भएपछि खोजी गरियो। तैपनि उनी फेला परेनन्।
गाउँ आसपास खोजेपनि फेला नपरेपछि दिपेशका बुबा सतिशनारायण भारततिर पनि खोज्न हिँडे। ३ साउनमा उनी दिपेश श्राद्धको भोज खान गएको ठाउँ भारतको बासोपट्टी थाना अन्तर्गत छतौनी पञ्चायततिर हिँडे।
त्यहाँ मधुवनी प्रहरीलाई भेट्न जाँदा प्रहरीले एउटा शवको फोटो देखाए। छतौनिस्थित बछराजा नदीमा फेला परेको शवको तस्बीरबाट उनले केहि बुझ्न सकेनन्। प्रहरीले शवको फोटो देखाएपछि उनी थप आत्तिए।
त्यसपछि मधुवनी अस्पतालमा पठाइएको उक्त शवलाई हेर्न उनी आफैं गए। अस्पताल पुगेर शव हेर्दा उनी अक्क न बक्क भए। मुटुको धड्कन झन् बढ्न थाल्यो। आँखाबाट आँशुका बलिन्द्र धारा एक्कासी बग्न थाल्यो। शव उनकै हराएका छोरा दिपेशको थियो।
२३ बर्षीय दिपेशले लगाएको लुगा, बेल्ट, दाँत, कपाल समेतबाट उनलाई चिनेको बताउँछन् सतिशनारायण। ‘यसबाहेक छोराको माथिल्लोतिरको एउटा दाँत टुटेको थियो। त्यो पनि हेरेपछि आफ्नै छोरा भएको थाहा पाएँ,’ उनले भने।
आफ्नै छोराको शव भेटिएपछि भारतीय कानुनअनुसार सबै प्रकृया पु¥याएर उनले ३ साउनमै शव गाउँ ल्याए। यो जानकारी इलाका प्रहरी कार्यालय यदुकोहामा गराएपछि प्रहरीको निगरानीमा शव राति त्यहिँ राखियो।
४ साउनमा शव प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएर पोष्टमार्टम गरियो। यसअघि भारतमा पनि पोष्टमार्टम गरिएको भएपनि प्रहरीले भनेपछि जनकपुरधाममा पनि पोष्टमार्टम गरिएको उनले बताए। पछि त्यहाँँबाट छोराको शव बुझेर सदगद गरिएको उनी बताउँछन्।
धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्र शव नेपाल ल्याउँदा शरीरमा केहि चोटपटक लागेको देखिएको बताए।
उनी गाउँकै दुई युवकसँग भोज खान गएका थिए भारत । २७ असारको राति शहीदनगर नगरपालिका–९ का दुर्गानन्द रजक र ७ का रंजित मण्डल मोटरसाइकल लिई दिपेशको घरमा आए।
उनीहरुले भारतको बासोपटीस्थित महथौर कटैयामा भोज छ खान जाउँ भने। ‘आफूले यति राति जाँदैन भनेर भने,’ दिपेशका पिता सतिशनारायण त्यसबेलाको घटना स्मरण गर्दै भन्छन्, ‘तर उनीहरुले राति नै भोज खाएर फर्किने भन्दै आग्रह गरेपछि आफू चुप लागे। यी दुई जना आफ्नै र दिपेश उनीहरुसँग मोटरसाइकलमा बसेर गएका थिए।’
दिनभर दुर्गानन्द र रंजितसँगै आफ्नो छोरा सँगै रहने भएकाले त्यत्ति वास्ता नगरी जान दिएको उनी बताउँछन्।
दिपेश गए। तर, राति अबेरसम्म उनी फर्केर आएनन्। उनी नआएपछि सतिशनारायण दुर्गानन्द र रंजितको घरमा गएर बुझ्दा उनका परिवारजनले अनभिज्ञता प्रकट गरेको उनी बताउँछन्।
पछि दुर्गानन्द र रंजित भेट्दा तपाईंको छोरालाई त यदुकोहाको भठी चोकमा छोडिदिएको बताएको सतिशनारायणको भनाइ छ। अर्को दिन फोन गर्दा धबौली जाने बाटोमा आफूहरुले देखेका बताएको उनले बताए।
यसपछि छोरा फर्केर घर नआएको सम्बन्धमा इलाका प्रहरी कार्यालय यदुकोहामा निवेदन दिई छोराको खोजी गर्न आग्रह गरियो। खोजीकै क्रममा भारतमा शव फेला परेको मृतकका बाबु शतिसनारायणले बताए।
मृतकका बुबा सतिशनारायण।
भोज खान लग्ने युवाहरु फरार
दिपेशलाई भोज खान भन्दै मोटरसाइकलमा बसाएर लग्ने युवाहरुले नै उनको हत्या गरेको परिवारजनको आशंका छ। पिता सतिशनारायणका अनुसार दिपेशलाई भारत लग्ने दुर्गानन्दका पिता भगतनारायण र भगतनारायणका भाई रुपनारायणसँग आफ्नो पारिवारिक रिसइबी थियो।
रुपनारायण र भगतनारायणले तिम्रो छोरालाई मारिदिन्छु भन्ने धम्की दिँदै आएको उनको भनाइ छ। ‘त्यसैले उनीहरुकै मिलोमतोमा दुर्गानन्द र रंजितले मेरो छोरालाई मारेका छन्,’ उनले भने, ‘त्यहि भएर रुपनारायण र भगतनारायणका साथै छोराालाई भारत लग्ने दुर्गानन्द र रंजित पनि फरार भएका छन्।’
धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी मिश्र पनि उनीहरु अहिले फरार भएको बताए। ‘फरार भएकाहरुको खोजी र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेका छौं,’ उनले भने।
पोष्टमार्टको रिपोर्ट पनि नआएको र आएपछि थप कुरा बाहिर आउने मिश्रले बताए।
वैदेशिक रोजगारीमा जाने तयारीमा थिए दिपेशकुमार रजक। वैदेशिक रोजगारीका निम्ति दुई बर्षअघि मलेसिया गएका थिए। त्यहाँ काम गर्न थालेको ६ महिना नबित्दै उनी बिरामी परे। त्यसपछि कम्पनीले घर फर्काइदिएका थिए।
पुनः मलेसिया जानकै लागि म्यान पावर कम्पनीलाई पासपोर्ट दिएका दिपेश भने भारतमा मृत फेला परेका हुन्। ‘दुई बर्षअघि उनलाई विदेश पठाउँदा लिएको ऋण उनलाई विदेश पठाएरै तिर्ने मनसाय बनाएका थियौं,’ बुबा सतिशतनारायणले भने, ‘तर, अब त्यो ऋण तिर्न घर नै बेच्नुपर्ने अवस्था आउँछ।’
सतिशतनारायणका दुई छोरामध्ये सतिश कान्छा छोरा हुन्। मृत फेला परेका दिपेशलाई दाजु मुकेशले दागबत्ती दिएका छन्।
विदेश जाने तरखरमा रहेका छोराको शव फेला परेको सुनेदेखि हालसम्म आमा चन्द्रकला रजक बेहोसछिन्। उनी खाना पनि नखाइरहेको जेठा छोरा मुकेशले बताए। अहिलेसम्म उनको घरमा रुवाबासी चलिरहेको छ।
दिपेशका पिता सतिशनारायण आफ्ना छोराको हत्या गर्ने व्यक्तिलाई कानुन अनुसार कारबाही हुनुपर्ने बताएका छन्।

