

मादक पदार्थ सेवन गरी पाँच महिने शिशुको हत्या

नवलपरासी पूर्व – देवचुली-६ मिर्तुङका एक व्यक्तिले पाँच महिने शिशुको हत्या गरेका छन्। मादक पदार्थ खाएर झगडा गर्दा उनले शिशुको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुक्रबार देवचुली–६ का कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा मामाकी पाँच महिने छोरी धनमायालाई उचालेर घरको पिँढीमा पछारेका थिए।
पिँढीमा पछार्दा गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा शनिबार स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु गएको गिरीले बताए। घटनामा संलग्न सारुलाई शनिबार नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको गिरीले जानकारी दिए।

