

गाई काटेको आरोपमा छ पक्राउ

संखुवासभा — सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।
मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए।
पक्राउ परेकामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ । सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।
त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ । शनिबार सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

