

लागूऔषधको कारोबारस्थलमा प्रहरीको छापा, दुई भारतीय नागरिकसहित तीन जना पक्राउ

बाँके – भारतीय नागरिकले नेपालगन्जमा कोठा भाडामा लिएर गर्दै आएको लागूऔषधको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ।
नेपालगन्ज उपमहनगरपालिका-१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगन्गजमा भाडामा कोठा लिएर अवैध लागूऔषध ठूलो कारोबार हुँदै आएको तथ्य फेला परेको हो।
लागूऔषध ब्युरो नेपालगन्जले प्राप्त गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार राति नेपालगनज्-१२ कोरियनपुरस्थित तीनतले घरबाट भारतको बहराइच जिल्ला कोतवाली नानपारा बाइपासका २८ वर्षीय सलमान खान, भारत लखनए कोतवाली घर भएका २८ वर्षीय मुस्तकिम र नेपालगन्ज-११ टाँगास्टेशन निवासी २१ वर्षीय आजाद कबडियालाई सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
उनका अनुसार छापा मार्दा कोठाबाट लागूऔषध तौल गर्ने डिजिटल तराजुसमेत बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान सुरु गरेको छ। रासस

