चितवनकी सुजिता भण्डारी प्रकरणमा नयाँ मोड, दाजु पर्ने प्रेमीले बिहे गर्न नमान्दा आत्महत्या


काठमाडौं– मृत फेला परेकी चितवनकी सुजिता भण्डारी प्रकरण अनुसन्धानमा नयाँ मोड आएको छ। प्रहरीले सुजितालाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा झापाका सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरी अनुसन्धानका लागि म्याद थपेको छ।

प्रहरीले शुक्रबार पत्रकार सम्मलेन गरी झापाका २३ वर्षीय सुकदेवलाई सार्वजनिक गरेको छ। विहीबार काठमाडौंमा पक्राउ गरिएका सुकदेवलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा सार्वजनिक गरिएको हो।

प्रहरीका अनुसार उनी सुजिताका काकाका छोरा हुन्। सुजिताले सुकदेवलाई बिहे गर्नका लागि अनुरोध गरेकी थिइन्।

उनीहरूको सम्बन्ध दाजुबहिनीको मात्रै सीमित नरही शंकास्पद देखिएको भनेर परिवारकै सदस्यहरूले चेतावनी दिएपछि प्रहरीको अनुसन्धान सुकदेवतिर मोडिएको थियो।

काठमाडौंमा एकैसाथ बस्ने योजना बनाएको र सुजिताले सुकदेवलाई कोठा खोज्न दबाब दिएको प्रहरी अनुसन्धानमा खुलेको छ। सँगै बसेका उनीहरुले अपहरणको नाटक गर्नेसम्मको योजना बनाएका थिए। तर समाजले स्वीकार नगर्दा उक्त विकल्पमा पुग्ने योजना बनाएका दुवै जनाले विदेश जानेसम्मको सोच बनाएका थिए।

सो क्रममा सुजिताले सुकदेवलाई बिहे गर्न दबाब दिएपछि मनमुटाव भएको खुलेको छ। ९ असारमा सुजिताले बिहेको प्रस्ताव गर्दा विवाद भएको थियो। उक्त क्रममा ‘बिहे नगरे म मर्छु’ भनी सुकदेवलाई धम्क्याएको पनि अनुसन्धानका क्रममा खुलेको छ।

प्रहरीले बरामद गरेको सचिनको फोन र सुजिताको फोनमा भएको मेमोरी कार्ड पनि सामाखुसीस्थित ल्याबमा पठाएको र त्यसबाट डिलिट गरिएका तस्वीरहरू समेत पाइएको प्रहरीले जनाएको छ। ११ असारमा हराएकी सुजिताको शव २० असारमा भेटिएको थियो।

शव भेटिएपछि कसैले उनको बलात्कार गरी हत्या गरेको भन्ने आशंका भएको थियो। तर, अनुसन्धानका क्रममा प्रहरीले फरक तथ्य फेला पारेको हो।

प्रतिक्रिया