

प्रधानमन्त्री देउवाले तोडिदिए ओलीले बालुवाटारमा स्थापित गरेको एउटा ‘बेथिति’

काठमाडौं– राजनीतिमा ‘थिति’ अनिवार्य हुनुपर्छ। भनिन्छ, तत्कालिन भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहले प्रधानमन्त्री हुँदा सरकारी निवासमा सन्तान राखेनन्, सरकारी गाडी छुन दिएनन्। राजनीतिमा थितिको प्रसङ्ग आउँदा चाणक्यको एउटा उक्ति स्मरण हुन्छ।
चाणक्य सरकारी केही काम गरिरहेका थिए। कुनै लिखत थियो। त्यहि बेला साँझ उनका घरमा पाहुना अथवा मित्र आइपुगे। चाणक्यले उनको स्वागत पूर्व आफूले काम गरिरहेका बेला बालेको दियो निभाए र आफ्नो नीजि दियो बाले। ति मित्रले भने,‘दियो बलिरहेकै थियो, किन अर्को बालेको?’
चाणक्यको जवाफ थियो– यो राज्यको दियो हो। राज्यको कामको लागि बालेको। तपाई मेरा नीजि मित्र आएपछि नीजि दियो बालेको छु। यसको अर्थ नै राजनीतिमा ‘थिति’ अनिवार्य छ भन्ने हुन्छ।
नेपाली राजनीतिमा थिति त छैन तर बेथिति अनेक छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि उत्कृष्ट थिति भएको नेतामा गनिन्न, जति कृष्णप्रसाद भट्टराई, सुशील कोइरालाहरुको हुन्छ।
तर हालै मात्र भने उनलेचाहिँ बालुवाटार प्रवेश गरेपछि निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित गरेको बेथिति तोडेका छन्।
ओली बालुवाटार छिरेदेखि नै तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अनेक बैठक सरकारी खर्चमा गर्थे। बालुवाटारमा सचिवालय, स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्मको बैठक राखे। पार्टी विभाजन भई एमाले र नेकपा माओवादी ब्युँतिएपछि पनि यो निरन्तरता कायम राखे। एमालेका बैठक र भेला पनि बालुवाटारमा तामझामका साथ सरकारी खर्चमा गर्थे।
यो बेथितिलाई भने कायम नराख्ने देउवाले निर्णय गरेका छन्। बालुवाटार सरेको पहिलो दिनमा नै पार्टी पदाधिकारी बैठक राखेका देउवाको तिव्र आलोचना भयो। त्यसबेला उनको जवाफ थियो– पार्टी कार्यालयमा धर्ना भएका कारण बैठक यहाँ राख्नु परेको हो। तर, अब भने उनले उक्त बैठक सरकारी निवास बालुवाटारमा नराख्ने निर्णय नै गरेको महामन्त्री पूर्णबहादुर खड्काले बताए।
शुक्रबार बोलाइएको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक नीजि निवास बुढानिलकण्ठमा हुनेछ। कांग्रेसका एक नेताका अनुसार पार्टी मुख्यालय सानेपामा क्रियाशील सदस्यता विवादको विषयमा नेता कार्यकर्ता धर्नामा रहेका कारण बुढानिलकण्ठमा बैठक डाकिएको हो।
देउवाले बालुवाटारमा पार्टीको बैठक नराख्ने निर्णय गराएर स्वागतयोग्य काम गरेको भनी प्रशंशा बटुल्न थालेका छन्।

