एमालेमाथि उक्ति ‘भाले न पोथी’ : सत्तामा नेपाल, विपक्षमा ओली


काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेमाथि एउटा उक्ति तयार पारे– भाले न पोथी जस्तो पार्टी। यो उक्तिको विरोध र समर्थन भयो। बहसमा पनि रहेको छ। तर, पछिल्लो समय एमालेको राजनीतिक उपस्थिति भने अचम्मलाग्दो छ।

प्रधानमन्त्री रहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेका थिए जसलाई सर्वोच्च अदालतले पुनःस्थापित गरिदियो। यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरियो र उनले विश्वासको दर्विलो मत हासिल गरे। प्रतिपक्षमा उभियो एमाले।

तर, उनै देउवाले प्रधानमन्त्रीमा दर्विलो मत पाउने या निर्णायक पनि एमाले नै रहेको छ। एमालेको माधवकुमार नेपाल खेमाका २२ सांसदले उनलाई समर्थन गरे भने १० जनाचाहिँ तटस्थ बसेका थिए। उनीहरु देउवाको सहयोगी भएनन् भने ओलीलाई पनि साथ दिएनन्।

एमाले केन्द्रीय कमिटीमा नेपाललगायतसँग स्पष्टिकरण सोध्ने निर्णय भयो। तर, दुई दिनसम्म बसेको बैठकले कारबाहीको निर्णय भनेको गरेको छैन। एमाले मिलाउनका लागि दुवै पक्षका कार्यदल सम्मिलित १० जनाका १० बुँदा अनुमोदन भए। तैपनि नेपाल पक्षले देउवालाई सहयोग गरी छाड्यो।

नेपाल पक्षले बैठक राखी अब देउवा सरकारमा मन्त्रालय सेयरिङको निर्णय गर्ने तयारी गरेको छ। ‘यो कस्तो पार्टी भयो सत्तामा पनि हुने, विपक्षमा पनि उभिने?’, एक नेता भन्छन्,‘कित्ताकाट नै छैन।’

प्रतिनिधि सभामा विश्वासको मतको विषयमा एमाले प्रवक्ता प्रदिप ज्ञवालीले प्रतिपक्षीको भूमिकामा सम्बोधन गरेका थिए। अध्यक्ष ओली भने विपक्षमा मत दिन पुगेका थिए। त्यहिँ नेता नेपाल भने पक्षमा मत दिनेमा परे।

‘एमालेले निर्णायक भूमिका देखाओस्। उ सिंगो प्रतिपक्ष हो या सत्तापक्ष?’, एक नेता भन्छन्,‘यसका लागि माधव नेपाल पार्टीबाट निस्कन पर्छ, कि त ओलीले कारबाही गरेर देखाउन्।’

प्रतिक्रिया