

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे महन्थ ठाकुर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्। बुधवार बिहान अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको जनाएको छ। जसपाको ठाकुर पक्षले अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो।
प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ। आज प्रधानमन्त्रीसँगको भेटमा यी दुईबीच यस विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका छन्। ठाकुर पक्षलाई पनि मन्त्री दिने विषयमा देउवा ठाकुरबीच कुराकानी भएको बुझिएको छ।
यस्तै जसपाको अर्को खेमा उपेन्द्र यादव समूहले सात मन्त्रीसहित एक राज्यमन्त्रीमा दाबी गर्दै आएको छ ।
असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले माओवादी केन्द्रबाट दुई र कांग्रेसबाट दुई मन्त्रीसहित २९ गते नै शपथ लिएका थिए।

