

ट्रक तर्ने क्रममा पुल नै भाँचिएर दुर्घटना, २ जनाको मृत्यू

मुस्ताङ – मुस्ताङमा एउटा ट्रक पुल तर्नेक्रममा पुलनै भाँचिएर दुर्घटना भएको छ । स्थानीय घरपझोङ गाउँपालिकाको ठिनीखोलास्थित कच्ची सडकमा ग १ ख ६८५२ नम्बरको ट्रक अस्थायी पुल तर्ने क्रममा पुल भाँचिएर ट्रक खोलामा खसेर दुर्घटना भएको थियो ।
यसैक्रममा ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिकाका ३८ वर्षीय चित्र बहादुर श्रेष्ठ समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ४ जनामध्ये ३ जना मुस्ताङ जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी चितवनमा खेत जोत्नेक्रममा ट्याक्टर पल्टिएर दुर्घटना भएको छ। भरतपुर महानगरपालिका कैलाशनगर बस्ने चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएर दुर्घटना हुँदा ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

