

सुजिता भण्डारीको शव परिवारले बुझे, आजै अन्त्येष्टि

काठमाडौं – सोमबार चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको शव परिवारले बुझेको छ। पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीका अनुसार सुजिताको परिवारले शव बुझेर चितवन ल्याउन लागेका छन्। यसअघि सुजिताको परिवारले घटनामा संलग्न व्यक्तिको पहिचान नभएसम्म्म शव नबुझ्ने अडानमा थियो।
स्थानीयबासीहरुले पनि तत्काल शव बुझ्न नहुने पक्षमा थियो। तर चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिँदै आएपछि अन्ततः परिवारले शव बुझ्न राजी भएको हो।
पारिवारिक स्रोतका अनुसार आजै सुजिताको अन्त्येष्टि चितवनमा गरिनेछ।
एसपी अधिकारीका अनुसार भिसेराको रिपोर्ट आइनसकेको तर एक साताभित्र सत्यतथ्य सार्वजनिक हुने बताए। गत ११ असारमा तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिताको २० असारमा घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको थियो।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको थियो। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए।
त्यसपश्चात आक्रोशित स्थानीयबासीले पोष्टमार्टमका लागि लैजाँदै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए। पछि सोही खिा साँझ नै सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो।
त्यसको भोलिपल्ट अर्थात २१ असारमा सुजिताको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे। युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका थिए।

