देउवालाई हतार थिएन, प्रचण्ड र नेपालको दबाबमा त्यसो भयो


काठमाडौं– राष्ट्रपति कार्यालयमा १४९, सर्वोच्च अदालतमा १४६ सांसदको मात्र दाबीसहित प्रधानमन्त्री पदमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अचम्मको नयाँ ‘इनिङ्स’ सुरु गरेका छन्।

उनले आइतबार राती प्रतिनिधि सभामा विश्वासको मत लिँदा १६५ जनाको समर्थन पाए। अब डेढ बर्षसम्म प्रतिनिधि सभा जोगिएको छ र मध्यावधि नभई मुलुक आवधिक चुनावमा जाने लगभग सुनिश्चित भएको छ।

प्रतिनिधि सभा बैठक बोलाएकै दिन देउवाले विश्वासको मत लिने कार्यसूची राखियो। यस विषयमा देउवा पनि हतारमा थिएनन्। अझ केही दिनमा नै विश्वासको मत लिने योजनामा रहेका उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका माधवकुमार नेपालको दबाब रह्यो।

विवाद मिलाउनका लागि कार्यदल सक्रिय भएका कारण एमाले मिल्दा देउवालाई सुविधाजनक विश्वासको मत नहुने थियो। ‘सुविधाजनक विश्वासको मत पाउने भएपछि जसपाले पनि एकमत भएर सबैले सहयोग गरेका हुन्।

एमाले मिलेको खण्डमा जसपा पनि विभाजन हुँदा देउवाले विश्वासको मत पाउन मुस्किल हुने थियो’, स्रोतले भन्यो,‘शुक्रबार र शनिबार रातीका प्रचण्ड र नेता नेपालको भेट तथा देउवाले राखेको गठबन्धनका नेताको बैठकले आइतबारै विश्वासको मत लिने तय गरेको थियो।’

देउवालाई तत्काल विश्वासको मत लिएर सदन जोगाउने र त्यसपछि सरकारमा गठबन्धनका अन्यलाई मन्त्री बनाउनेबारे प्रचण्ड र नेपालको दबाब थियो। यद्यपि विश्वासको मत लिने दिनका सन्दर्भमा देउवाका ज्योतिषको पनि शुभ राय रहेको भन्ने विषय चर्चामा आएको छ।

प्रतिक्रिया