बालुवाटारमा पार्टीको बैठक नराख्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह


काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न आग्रह गरेका छन्।

संसदमा विश्वासको मत पाएपछि सोमबार बिहान सामाजिक सञ्जालमार्फत थापाले आफूहरुले पार्टीका कामहरु बालुवाटारबाट नगर्न अनुरोध गरेको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जनाएका छन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएका कारण बालुवाटारमा गरेको हो, अबदेखि त्यस्तो हुँदैन भनेर विश्वास दिलाउनुभएको छ। प्रधानमन्त्री ज्यू यो विश्वासलाई कायम राखिदिनुहोला।’

कांग्रेस पार्टी कार्यालयमा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा र धनुषाका नेता तथा कार्यकर्ताले विगत एक सातादेखि धर्ना दिइरहेका छन्।

पार्टी कार्यालयको मुल गेटमा उनीहरू धर्नामा छन्। यस्तै देउवाले पार्टी कार्यालयमै बैठकहरू राख्नुपर्ने अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी बताउँछन्।

प्रधानमन्त्री देउवाले आफू सरकारी निवासमा सरेको भोलिपल्टै कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमा बोलाएपछि त्यसको आलोचना भएको थियो।

प्रतिक्रिया