नियुक्ति सच्चिएपछि प्रधानमन्त्री देउवाले लिए शपथ


काठमाडौं – शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार साँझ शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्।

सपथ कार्यक्रममा उपराष्ट्रपति, सभामुख, प्रधानन्यायधीश लगायतको उपस्थिति रहेको थियो। गत जेठ ७ गते देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गरेता पनि राष्ट्रपतिले अस्वीकार गरिदिएकी थिइन्। तर, सर्वोच्च अदालतले सोमबार देउवालाई राष्ट्रपति नियुक्त गर्न परमादेश जारी गरेको थियो।

सर्वोच्च अदालतको परमादेशसँगै राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका थिए।

सोही कारण शपथ ग्रहणमा ढिलाइ भएको थियो। साँझ ६ बजे भनिएको सपथ ग्रहण समारोह ८ बजेपछि मात्र सुरु भएको थियो। पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन्।

प्रतिक्रिया