

एमाले युवादस्ता युथ फोर्स ब्युँतियो, ओलीलाई स्कर्टिङसाथ बालकोट पुर्याइने

काठमाडौं — नेकपा एमालेले आफ्नो भ्रातृ संगठनको रूपमा युथ फोर्सलाई ब्युँताएको छ।
युवा संघको मंगलबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्युँताएको हो। युथ फोर्सको उपप्रमुखमा पुष्पराज श्रेष्ठ तोकिएका छन्।
एमाले युवा संघका इञ्चार्ज तथा सांसद महेश बस्नेत नेकपा एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीको प्रतिरोध गर्न युथफोर्स ब्युँताइएको बताए।
‘पार्टीको विचार, नीति तथा कार्यक्रमलाई प्रचारप्रसार गर्दै, साइबर सेनाले सामाजिक सञ्जालमा गरिरहेको कार्यक्रमलाई परिस्कृत गर्दै युथफोर्स अन्य गतिविधिमा संलग्न हुने छ,’ बस्नेतले भने।
एमालेको अग्रपंक्तिमा रहेका नेतालाई सुरक्षा दिँदै युथ फोर्सले पार्टीका कार्यक्रमहरूमा स्वयंसेवाको भूमिका खेल्ने बस्नेतले बताए।
‘पार्टीका कार्यक्रमका साथै महाविपत्तिमा राहत तथा उद्धारका कार्यक्रममा युथ फोर्स सहभागी हुनेछ,’ उनले भने, ‘सभा, सम्मेलन, गोष्ठीबाट एमालेविरोधी गतिविधिको खण्डन गर्नेछ।’
सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री निवास छाडेर निजी निवास बालकोटमा सर्न लागेका निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई बुधबार बालुवाटारदेखि बालकोटसम्म युथफोर्सका साथै एमाले कार्यकर्ताका दुई हजार गाडी र तीन हजार मोटरसाइकलले स्कर्टिङ गर्ने पनि बस्नेतले जनाए ।

