पुरानो रिसिईबी साँध्न बिहानै तुलसीपुरमा खुकुरी प्रहार, घोराहीमा छुरा


घोराही – पुरानो रिसिईबी साँध्न दाङको तुलसीपुरमा मंगलबार बिहान खुकुरी प्रहार भएको छ। तुलसीपुर–९ दोघरेस्थित जिम क्लब नजिकै तुलसीपुर–५ रानीजरुवा निवासी २३ वर्षीय विशाल सुनारमाथि खुकुरी प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार दंगीशरण गाउँपालिका–५ लौवस्ता निवासी २५ वर्षीय निर्मल बस्नेतले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहार गर्दा सुनारको बाँया खुट्टाको तिघ्रामा काटेको छ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। खुकुरी प्रहार गर्ने बस्नेत भने फरार छन्। उनलाई खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए। मंगलबार विहान सवा ६ बजेतिर उक्त घटना भएको हो।

उनीहरुबीच सोमबार पनि सामान्य विवाद हुँदा हातपातको स्थिति आएको थियो। पातुखोला नजिकको पुलमा हातपात हुँदा विशालको हातमा चोट लागेको थियो।

हातमा चोट लागेका विशालले हिजै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिए। उनीसहित गएका उनका साथीहरु भने क्लबभित्र थिए। उनी बाहिर होटेलमा चिया खाँदै गरेको अबस्थामा बस्नेत आएर खुकुरी प्रहार गरेको स्थानीय बताउँछन्।

त्यस्तै दाङमा एक जना व्यक्ति छुरा प्रहारबाट गम्भिर घाइते भएका छन्। घोराही–१५ निवासी ६१ वर्षीय दामोदत पौडेलमाथि अज्ञात व्यक्तिले छुरा प्रहार गरेर गम्भिर घाइते बनाएको हो।

छुरा प्रहारबाट घाइते पौडेलको छात्तीमा, घाँटीमा, पेटमा गम्भिर चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिहान मर्निवाक जानेक्रममा घोराही–१४ झिगौरामा उनीमाथी छुरा प्रहार भएको रिजालले बताए।

उनको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। छुरा प्रहारबाट उनको मोटो आन्द्रा पुरै छियाछिया भएको छ भने सानो आन्द्रामा प्वाल परेको प्रतिष्ठानले जनाएको छ।

पौडेलको अप्रेसन सफल भएको र बिरामीको अवस्था सामान्य रहेको अप्रेसनमा सलग्न चिकित्सक सर्जन डा. विशाल आचार्यले बताए। रिजालले दिएको जानकारी अनुसार मर्निङवाकको बेला पौडेलसँग पैसा मागेको र पैसा नदिएपछि एक्कासी छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सो घटनाको अनुसन्धान चलिरहेको र छुरा प्रहार गर्ने व्यक्तिको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया