डोटीमा भारी वर्षा, भत्किए तीन घर


डाेटी – लगातारको वर्षाका कारण डोटीमा तीन वटा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दकाअनुसार सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको दुइ तले घर भत्किएको छ ।

उनको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई वटा बाख्रा पुरिएर मरेका छन् । यसैगरी बडिकेदार गाउँपालिका–१ का धनबहादुर कलेलको दुई तले सिलेटले छाएको घर र दिपायल सिलगढी नगरपालिका–५ बागठाटाका जोगी भुलको ढुङ्गा माटोले बनेको दुई तले घर भत्किएको हो ।

घर भत्किँदा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा केही दिनयतादेखिको वर्षाका कारण जोखिम बढेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया