हेटाैंडाबाट १७८ किलो गाँजा र २ वटा गाडीसहित २ पक्राउ


वाग्मती – प्रहरीले करीब १७८ किलो अवैद्य लागुऔषध गाँजासहित २ गाडी नियन्त्रणमा लिएको छ ।

हेटौँडा उपमहानगरपालिका–५ स्थित रिलायन्स आवासीय माध्यामिक विद्यालय नजिक गस्तीमा गएको प्रहरीको गाडीलाई देख्नासाथ प्रदेश ३–०१–०२२ च ७२३७ नम्बरको बोलेरो पिकअप गाडीका चालक आज बिहान गाडी छोडेर भागेका थिए ।

शङ्का लागेर प्रहरीले जाँच गर्दा गाडीमा लुकाइछिपाइ राखेको अवस्थामा १२० किलो ९०० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । फरार रहेका चालकको खोजीकार्य तीव्र पारिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, बुधबार अपराह्न हेटौडा–१५ पीपल चौताराबाट प्रहरीले बोलेरोबाट नै ५७ किलो ९ सय ग्राम गाँजा बरामद गरेको छ। ना४च ५०१५ नम्बरको बोलेरोबाट गाँजा बरामद गरेको हो।

बोलेरोका चालक चितवन राप्ती नगरपालिका-६ का २६ वर्षीय सञ्जय चौधरी र सोही ठाउँका ४८ वर्षीय लालजी साहलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले गत २ दिनमा १ सय ७८ किलो भन्दा बढी गाँजा बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया