पूर्वाञ्चल दैनिकबाट लिम्बू भाषाको सामग्री प्रकाशन शुरु


झापा–झापाको विर्तामोडबाट प्रकाशित हुँदै आएको पूर्वाञ्चल दैनिकले लिम्बू भाषा (किरात सिरिजङ्गा लिपि) सामग्री प्रकाशन शुरु गरेको छ ।

पूर्वका दैनिक पत्रिका अखबारमध्ये सो दैनिकले पहिलोपटक यस्तो भाषिक सामग्री प्रकाशनको शुरुआत गरेको हो । किरात याक्थुङ् चुम्लुङ झापाको सहकार्यमा पत्रिकाले आजदेखि उक्त सामग्री प्रकाशन शुरु गरिएको प्रधानसम्पादक एकराज गिरीले बताए । सम्पादक गिरीका अनुसार लिम्बू बाहुल रहेको जिल्लामा लिम्बू भाषाबाट नै आम पाठकलाई सूचना दिने उद्देश्यले पाक्षिकरुपमा भाषिक सामग्री प्रकाशन गरिने छ । लिम्बू भाषा सामग्री प्रकाशनका लागि सेसेहाङ फियाकलाई सम्पादक र सेसेमी से–नाल्बो र डिल्लीश्वर मुसाहाङ्लाई सहसम्पादकको जिम्मेवारी दिइएको जनाइएको छ ।

पत्रिका २६ वर्षमा प्रवेश गरेसँगै अब अन्य समुदायको भाषामा पनि सामग्री प्रकाशन गर्दै जाने लक्ष्यअनुसार प्रारम्भिक चरणमा लिम्बू भाषाबाट सामग्री प्रकाशन शुरुआत गरिएको सम्पादक गिरीले बताए । भाषिक पृष्ठमा समाचार, कथा, कविता, गीत, नाटक, उपन्यास, गजल, हाइकुलगायत विविध सामग्री प्रकाशन गरिने उनले जानकारी दिए ।

(रासस)

प्रतिक्रिया